दाङ तुलसीपुरमा भएको जिप दुर्घटनामा थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
सल्यानको छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका ८ वर्षीय पवन बिकको उपचारका क्रममा आइतबार बाँकेस्थित नेपालगंज नरसिंह होममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
दुर्घटनामा उनकी २१ वर्षीया आमा गीता बिक पनि घाइते छिन्। उनीसँगै ६ वर्षीया छोरी स्नेहा बिकको पनि उपचार भइरहेको कार्यालयले जनाएको छ।
गत शुक्रबार तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकै दुर्घटनामा परेको थियो। रा १ ज ५५६ नम्बरको जिप ६० मिटर तल खसेको थियो।
दुर्घटनामा चालक रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ ओत निवासी ४० वर्षीय बिष्णु पुन मगरको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
दुर्घटनामा घाइते रहेका अन्यको पनि उपचार जारी रहेको प्रहरीले जनाएको छ।
गंगादेव–१ बिवाङका २३ वर्षीय बलबहादुर वली, ३२ वर्षीया गौशला वली, ४२ वर्षीय दुलबहादुर वली र २० वर्षीया रिता डाँगीको नरसिंह होममा आइसियुमा राखेर उपचार भइरहेको छ।
तुलसीपुर उपमहानगरपालिका–१५ का ३३ वर्षीय खुसीराम चौधरी, ६ वर्षीया स्नेहा बिक र भारतको बंगाल कलकत्ताका ३० वर्षीय सादाम हुसेनको नर्मल वार्डमा उपचार भइरहेको छ।
यो पनि: दाङ जिप दुर्घटनामा चालकको मृत्यु, घाइतेमध्ये चार जना बाँके रिफर