चितवनको कालिका नगरपालिकाले खाना फाल्न नपाउने नीति ल्याएको छ। आइतबार पारित भएको नीति तथा कार्यक्रममा खाना फाल्नेलाई नियमन गर्न कार्यविधि बनाएर लागू गर्ने उल्लेख छ।
नगरपालिकाका मेयर विनोद रेग्मीले विवाह, व्रतवन्ध, भोजभतेर, बनभोज तथा पाटी प्यालेसमा खाना फाल्नेलाई नियमन गरिने बताए। यसका लागि विद्यालय तथा टोलस्तरमा खाद्य सुरक्षा, खाद्य संस्कार सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताए।
‘आयोजकलाई स्वागतद्वारमै खान नफाल्न अनुरोध गरिएको तुल, व्यानर वा सूचना राख्न अनुरोध गर्छौं। परिवार तथा समुदायमा खाना नफाल्ने संस्कार सिकाउन अनुरोध एवम् प्रोत्साहन गर्छौं,’ उनले भने, ‘खानाको सम्मान तथा बचत गर्ने बानीको विकास गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ।’
कालिका नगरपालिकाको पहाडी क्षेत्रमा खानाको अभाव हुने गर्छ। चेपाङ बाहुल्य क्षेत्रमा खानाको अभावले बाँच्नै गाह्रो हुने तर तल्लो भेगमा खाना खेर फाल्ने प्रवृत्ति रहेको रेग्मी बताउँछन्। नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा धुम्रपान, मध्यपान तथा गुड्का सेवन गर्न बन्देज लगाउने, नगरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य तथा पेय पदार्थको विक्री वितरण तथा विज्ञापन गर्नेलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने पनि उल्लेख छ।
उनले ‘मिठो मसिनो खाउँ, पोसिलो खाउँ तर खाना नफालौं’ नारा दिएर उत्पादनमा पनि प्रोत्साहन गर्न लागेको बताए। नगरबासीलाई जग्गा बाँझो नराख्न, करेसाबारी बनाउन, रैथाने बाली लगाउन प्रोत्साहन गर्ने रेग्मीले बताए।
नीति तथा कार्यक्रममा प्रांगारिक मल, झोल मल, भर्मी कम्पोष्ट मल बनाई प्रयोग गर्ने किसानलाई अनुदान तथा प्राविधिक सहायता प्रदान गर्ने उल्लेख छ। मेयर रेग्मीले आफू पनि विषादी रहित खाने र अरुलाई पनि त्यस्तै खुवाउन रसायनिक मलको खपत घटाउँदै प्रांगारिक मलको प्रयोगगरी खेती गर्न प्रोत्साहन गर्ने बताए।