चालु आर्थिक वर्ष २०७९/८० मा २१ वटा गैंडा मरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा २१ वटा गैंडा मरेका हुन्।
देशभरका राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले विभागलाई बुझाएको प्रतिवेदनअनुसार यसवर्ष संरक्षित जनावरहरूमध्ये सबैभन्दा धेरै गैंडा मरेको वन्यजन्तु अपराध नियन्त्रण इकाईका अनुसन्धान अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए।
‘आर्थिक वर्ष सकिनै लाग्दा तथ्यांक संकलनको काम भइरहेको छ। त्यही क्रममा जेठसम्मको तथ्यांक हेर्दा गैंडा धेरै मरेको देखियो,ʼ उनले भने।
गैंडाको औसत आयु ४० देखि ७० वर्षसम्म हुन्छ। तर धेरैजसो गैंडाको अकालमै मृत्यु हुने गरेको अधिकृत खतिवडाले बताए।
यस वर्ष उमेर पुगेर तीन वटा गैंडा मरेका छन्। तीन वटालाई तस्करले मारेको र बाँकी १५ वटा अकालमै विभिन्न कारणले मरेको विभागको तथ्यांक छ।
अनुसन्धान अधिकृत खतिवडाका अनुसार तस्करले मारेका तीन वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जका हुन्।
२०७९ असोज २७ गते १२ वर्षको भाले गैंडालाई मारेर खाग काटिएको अवस्थामा भेटिएको थियो। पोष्टमर्टमबाट उक्त गैंडालाई करेन्ट लगाएर मारिएको खुलेको थियो।
त्यस्तै, २०७९ माघ ६ गते चितवन राष्ट्रिय निकुञ्जभित्र अमलटारी सेक्टर अन्तर्गत भुताहा पोष्ट नजिकैको सितापुर क्रान्तिघाट नारायणी नदीको झ्याङमा दुई वटा मरिएको अवस्थामा भेटिएको थियो।
एकैठाउँमा १४ वर्षको पोथी र ४ वर्षको भाले गैंडा मृत फेला परेको हो।
‘त्यस घटनामा तस्करले पोथीको खाग काटिएको अवस्थामा भेटिएको थियो,ʼ उनले भने भने, ‘करेन्ट लगाएर मारिएको थियो।ʼ
बाँकी १३ वटा भने भालेसँग जुधेर, बाघको आक्रमणबाट, वन्यजन्तुको आक्रमण, तालमा डुबेर मरेको उनले बताए।
अघिल्लो आर्थिक वर्षभन्दा यसवर्ष कम गैंडा मरेको तथ्यांक छ। २०७८/७९ मा ३७ गैंडा मरेका थिए।
विभागका अनुसार २०६५/६६ देखि २०७९/८०सम्म ३२३ गैंडा मरेका छन्।
यसैगरी विभागले राष्ट्र निकुञ्जहरूबाट पाएको तथ्यांकका अनुसार संरक्षित जनावरहरू धेरै मर्ने दोस्रो स्थानमा बाघ पर्छ। यस वर्ष ८ वटा बाघ मरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा दुईटा, बर्दिया राष्ट्रिय निकुञ्जमा तीनटा, बाँके राष्ट्रिय निकुञ्जमा एउटा, डिभिजन वन कार्यालय बाराको जंगलमा एउटा र डिभिजन वन कार्यालय पर्साको जंगलमा एउटा बाघ मरेका छन्।
८ वटामध्ये दुईवटा बाघ कुहिएको अवस्थामा फेला परेको थियो। जसकारण मृत्युको कारण खुल्न नसकेको अधिकृत खतिवडा बताउँछन्।
‘बाघको छाला, हड्डी निकालिने भएकाले मरेको बाघ सकुशल भेटिँदैन,ʼ उनले भने, ‘सडेगलेको अवस्थामा मात्र भेटिन्छ।ʼ
बाघको अंग (छाला, हड्डी, यौनांग, नंग्रा, रगतलगायत) को अत्याधिक किनबेच र ओसारपसार हुने गरेको उनको भनाइ छ।नेपालमा धेरै बाघ पाँचवटा निकुञ्जमा पाइन्छ। पर्सा, बाँके, बर्दिया, चितवन र शुक्लाफाँटा निकुञ्जमा धेरै बाघ पाइन्छ।
बाघको आयु १५ देखि २० वर्षसम्म हुन्छ। तर तस्करले अकालमै मार्ने गरेको अधिकृत खतिवडाले जानकारी दिए।
२०७८ मंसिर १९ गतेदेखि २८ फागुनसम्म गरिएको गणनाअनुसार नेपालमा बाघको ३५५ वटा बाघ छन्। सन् २००९ मा १२१ बाघ थिए।
त्यसैगरी यही वर्ष ७ वटा हात्ती समेत मरेका छन्।
उनका अनुसार डिभिजन वन कार्यालय गाईघाटको जंगलमा, उदयपुरमा एउटा, बर्दिया राष्ट्रिय निकुञ्जमा दुईटा, डिभिजन वन कार्यालय झापाको जंगलमा दुईटा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा र डिभिजन वन कार्यालय सुनसरीको जंगलमा एउटा हात्ती मृत फेला परेको हो।
‘चार वटा हात्ती प्राकृतिक कारणले मरेको देखिन्छ भने ३ वटालाई करेन्ट लगाएर मारिएको थियो,ʼ खतिवडाले भने। तस्करले दाह्राको लागि करेन्ट लगाएर मार्ने गरेको उनी बताउँछन्। बाघलगायत संरक्षित वन्यजन्तुको कारोबार गर्न रोक लगाइएको छ।
वन्यजन्तुको अपराधमा संलग्न हुनेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने निकुञ्ज ऐनमा व्यवस्था छ।
वन्यजन्तु अपराधमा देशभरका विभिन्न जिल्लामा ५०/५५ जनालाई नियन्त्रणमा छन् भने कम संख्यालाई मात्र सजाय तोकिएको विभागका सुचना अधिकारी चन्द्रशेखर चौधरीले बताए।