हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ।
हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
साथै देशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज देशभर आंशिक देेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
दिउँसो कोशी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि छ।
महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, बागमती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभरको बदली हुने हुँदा पश्चिम नेपालका तराईका भूभागमा तापक्रम घट्ने सम्भावना रहन्छ।
पश्चिम नेपालमा न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेकाले मनसुन प्रवेश गर्न सकेको छैन। न्युन चापीय क्षेत्र विस्तारै कमजोर भएको र यसको प्रभाव सकिएपछि मनसुन प्रवेेश गर्ने मौसमविद्हरूले बताएका छन्।