दाङको तुलसीपुर उपमहानगरपालिका–९ नमूना नगरस्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा उपभोक्ताले तालाबन्दी गरेका छन्।
आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताले बुधबार तालाबन्दी गरिदिएका हुन्।
संस्थाका सचिव दशरथ वलीले भने गलत कुरालाई राजनीतिक रूपमा उछाल्न खोजिएको तर्क गरे।
‘हिजो हामीसँग चुनावमा प्रतिस्पर्धा गरेका दलका नेताहरूले गलत कुरालाई राजनीतिक मुद्दा बनाएर उछाल्न खोजिरहेका छन्,’ उनले भने, ‘काम गर्नेका लागि पेश्की रकम दिएको कुरालाई हिना भनेर राजनीतिक मुद्दा बनाउन खोज्नु गलत हो।’
काम सकिएपछि पेश्की लगेकाहरूले रकम फिर्ता गर्ने उनले बताए।
‘पेश्की दिएको कुरालाई हिनामिना गरे भन्ने कुरा गलत हो,’ उनले भने, ‘त्यही कुरामा जिद्दी गरेर बुधबारदेखि हामीसँग पराजित भएकाहरू आएर कार्यालयमा तालाबन्दी गरेका छन्।’
यो संस्थाका अध्यक्ष चन्द्रकान्त शर्मा खरेल, सचिव वली र उपाध्यक्ष केशव सापकोटा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
संस्थामा तालाबन्दी गरिएकोबारे तीन वटा वडाका वडाध्यक्षहरूलाई जानकारी दिइएको सचिव वलीले बताए।
‘संस्थाले वडाध्यक्षहरूलाई घटनाबारे जानकारी दिँदै हिनामिना भए अनुसन्धान होस् र यदि राजनीतिक मुद्दा बनाउन खोजिएको हो भने सम्बन्धितलाई कारबाही होस् भन्ने माग गरेका छौं’, सचिव वलीले भने,‘समितिलाई कुनै जानकारी वा सूचना नदिई एकाएक गएर गलत ढंगबाट तालाबन्दी गर्ने कार्य स्वीकार्य हुन सक्दैन।’
आफ्नै संगठन र पार्टीप्रति आस्थावान भए पनि केही असन्तुष्ट पदाधिकारीका चलखेलका कारण यो सबै भइरहेको भन्दै सचिव वलीले त्यस्ता रोगका बारेमा पार्टीमा कुरा हुने बताए।
तर, सचिव वलीले शुक्रबार नै राजनीतिक दलहरूको बैठक बोलाएर ताल्चा खोल्ने विश्वास दिलाए।
‘पेश्की लगेका साथीहरूले असार मसान्तसम्म रकम जम्मा गर्नु पर्ने थियो,’ सचिव वलीले भने, ‘तर, यति कुरा सार्वजनिक भएपछि भोलि ११ बजेभित्रै पेश्की लगेका साथीहरूलाई रकम जम्मा गर्न लगाउँछौं र राजनीतिक दलहरूको परामर्शपछि ताला खोल्ने छौं।’
कांग्रेसबाटै निर्वाचित संस्थाका उपाध्यक्ष केशव सापकोटाले भने गलत कुरा भएको हुँदा उपभोक्ताले ताल्चा लगाउनु स्वाभाविक भएको तर्क गरे।
खाता सञ्चालन गर्ने अधिकार कार्यसमितिले सचिव र कोषाध्यक्षलाई प्रदान गरेको भन्दै उपाध्यक्ष सापकोटाले कुनै पनि आर्थिक निर्णय गर्दा कार्यसमितिमा कुरा ल्याई छलफलपछि मात्रै म्यान्डेट पाई चेक काट्नु पर्ने नियमविपरीत मनोमानी पेश्की दिने काम भएको बताए।
‘हामी नौ जना कार्यसमिति सदस्यमध्ये छ जनालाई केही थाहा छैन ,’ उपाध्यक्ष सापकोटाले प्रश्न गरे, ‘अध्यक्ष, सचिव र कोषाध्यक्ष मिलेर मनपरी गरेकोलाई बदमासी मान्ने कि नमान्ने ?’
पेश्की दिँदा विधानको नियमविपरीत संस्थाको खातामा भएको पैसा कसैलाई पनि जानकारी नगराइ मनपरी गरेको पाइएको उपाध्यक्ष सापकोटोले बताए।
उनका अनुसार कोषाध्यक्ष केशव वलीको नाममा दुई पटक गरी १५ लाख, सचिव दशरथ वलीको नाममा एक लाख र अध्यक्ष चन्द्रकान्तको नाममा ३० हजार रकम निकालेको देखिएको बताए।
अध्यक्ष चन्द्रकान्तको नाममा पाँच लाख ३० हजार गएको देखिए पनि पाँच लाख जम्मा गरिसकेको र अझै ३० हजार अध्यक्षको नाममा गएको देखिएको उपाध्यक्ष सापकोटोले दाबी गरे।
‘गत वैशाखको मिटिङमा हामीले थाहा पाएर यो कुरा उठाउँदा गल्ती भयो अर्को मिटिङ बस्नु पूर्व नै पैसा जम्मा गर्छौं भनेका थिए,’ उपाध्यक्ष सापकोटोले भने, ‘तर अहिलेसम्म पनि उनीहरूले रकम जम्मा गरेनन् त्यसैले सचेत उपभोक्ताले ताला लगाएका हुन्।’
संस्थाको पैसा ब्याजको लोभमा व्यक्तिलाई पेश्की दिन नमिल्ने उपाध्यक्ष सापकोटाले बताए।
‘ब्याजका लागि पेश्की स्वरूप रकम दिएको भनेर आज उनीहरूले आफ्नो बचाउ गर्दै आएका छन्,’ सापकोटाले अगाडि भने, ‘संस्थाको पैसा यसरी व्यक्तिलाई ब्याजमा लगाउन कहाँ पाइन्छ। उनीहरूले गलत गरेकै हुन्।’
उपाध्यक्ष सापकोटाले बाहिर आएको कुरा सत्य भएको पनि दाबी गरे।
सापकोटा नेकपा एकीकृत समाजवादीबाट नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका व्यक्ति हुन्।
कोषाध्यक्ष केशव वलीले भने तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए।
संस्थाको नेतृत्व चुन्न भएको निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मोर्चा बनेको थियो भने नेकपा एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपा लगाएको चुनावी गठबन्धन बनेको थियो।
खानेपानीको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा भिडेर पराजित भएका भिमकान्त बस्याल (संगीत) ले संस्थाको नियमविपरीत कार्यसमिति भित्रका केही पदाधिकारीले मिलेमतोमा पेश्की लगेको हुँदा त्यसको विरोधका तालाबन्दी गरिएको जानकारी दिए।
गत वर्ष साउन १ गते उनीहरूले पेश्की लगेको र एक वर्षदेखि २० लाख बढी रकम अपचलन गरेको स्पष्ट भएको हुँदा तालाबन्दी गर्नु परेको बताए।
‘त्योबाहेक सामान खरिद प्रक्रिया र खर्च प्रणाली पनि पारदर्शी छैन,’ उनले भने, ‘कोटेसन आह्वान गरी गर्नुपर्ने काम मनपरी भएको देखिएको छ।’
यी सबै कुराको छानबिन होस् भन्ने उद्धेश्यले ताल्चा लगाएर निवेदन दिइएको उनले बताए।
संस्थाका पूर्व कोषाध्यक्षहरू समेत रहेका भिमकान्त बस्याल (संगीत) , विजय मल्ल, जितबहादुर खड्का सहितको टोलीले संस्थाको कार्यालयमा तालाबन्दी गरेको थियो।
उनीहरूले संस्थाको रकम अनियमिततामा संलग्नहरूलाई कारबाहीको मागसहित तुलसीपुर उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर वडा नं. ३ , ८ र ९ को कार्यालय र खानेपानी डिभिजन कार्यालय दाङलाई समेत बोधार्थ पत्राचार गरेका छन्।
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था २०५० सालमा स्थापना भएको थियो।
संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ , ८ र ९ का उपभोक्ताहरूलाई खानेपानी उपलब्ध गराउँदै आएको छ।