गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक लिलाराज लामिछानेका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।
अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। घाइते सबैलाई उपचारका लागि तनहुँ पठाइएको र केही डिस्चार्ज समेत भएको उनले बताए।
दुर्घटनामा मृत्यु हुनेहरूमा ४ जना पुरूष र १ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको पहिचान भइसकेको छैन।
दुर्घटनाग्रस्त गाडी खोँचमा पुगेको र अहिलेसम्म ३ जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए।
‘दुर्घटनामा दुलहादुलहीचाहिँ पर्नुभएको छैन। दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी छ। अप्ठेरो बाटो र मध्यरातिको घटना भएकाले उद्धारमा पनि कठिनाइ भयो। अहिले सुरक्षाकर्मीहरूले भीरमा अड्किएका शव डोरीको सहयताले निकाल्दै हुनुहुन्छ,’ उनले भने, ‘घाइतेहरूलाई तनहुँको आँबुखैरेनी लगिएको छ।’