सशस्त्र प्रहरी बलले सिरहाबाट करिब ८० लाख बराबरको लत्ताकपडा बरामद गरेको छ।
सिरहा नगरपालिका-१८ स्थित तारापट्टिबाट मंगलबार सशस्त्र प्रहरीले करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो।
भारतबाट अवैध रूपले ल्याएर लुकाएर राखेको भन्ने सूचना सशस्त्र प्रहरीले पाएको थियो।
सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले भन्सार छलीका सामान बरामद गरेको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
७८ पोका लत्ताकपडा बरामद गरेको थियो। स्थानीयबासीको तीन वटा गाई गोठको टहरामा लुकाएर राखेको अवस्थामा बरामद भएको थियो।
पछिल्लो समय नजिकिएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजरमा राख्दै सशस्त्र प्रहरी परिचालन गरिएको डिएसपी थापाले बताए।
बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ।