नेपालमा सुन तस्करी गर्ने समूहका प्रमुख व्यक्ति भनिएका चिनियाँ नागरिक दाओजिन वाङका नेपाली चालकलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले वाङका चालक लोकेन्द्र पौडेललाई केही दिनअघि पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार असोज १४ गते आइतबार काठमाडौंबाट पौडेललाई पक्राउ गरिएको हो।
२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ल्याएको ठूलो संख्याको भेप (विद्युतीय चुरोट) भित्र सुन फेला परेको घटनामा पौडेललाई पक्राउ गरेको हो।
चिनियाँ नागरिकको लगेजमा ७३ बट्टामा ७३० गोटा भेप थिए। त्यसमा ९ किलो सुन तस्करी गरी नेपालमा भित्र्याइएको थियो।
भन्सारका कर्मचारीले उक्त सामानलाई बरामद गरी रोकेको थिए। पछि भन्सारकै कर्मचारीहरूले भेपभित्र सुन भएको थाहा पाएर उक्त सुन चोरी गरी बेचेका थिए।
त्यस प्रकरणमा सिआइबीले सुन चोरी गर्ने समूहलाई पक्राउ गर्न सफल भए पनि सुन तस्करी गर्ने समूह पक्राउ गर्न सकेको थिएन।
सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउँदा सुन तस्करी गर्ने समूहसमेत पहिचान गरेको थियो। तर उनीहरू कसैलाई पक्राउ गरेको थिएन।
पछिल्लो समय सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा भने प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
दाओजिन वाङसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, चालक लोकेन्द्र पौडेलबीच संवाद भएको देखिएको थियो। अहिले राहुल र लोकेन्द्र सिआइबीको हिरासतमा छन्। पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि केही दिनअघि सिआइबीले सोधपुछ गरेको थियो।
भन्सारले भेप समाएपछि महरा बाबु-छोरा, पौडेललगायतले सामान छुटाउन भन्सारमा सम्पर्क गरेका थिए।
पछिल्लो समय सिआइबीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको हो।
दाओजिन वाङ भेपमार्फत सुन तस्करी गर्नेमा मात्रै नभई ६० किलो ७१६ ग्राम सुन प्रकरणमा पनि जोडिएका व्यक्ति हुन्।
सिआइबीका अधिकारीहरू उनी नै सुन तस्करीका प्रमुख व्यक्ति भएको मान्ने गरेका छन्। अहिले उनी फरार छन्। पछिल्लो पटक सिआइबीले बुझाएको प्रतिवेदनमा भने वाङलाई प्रतिवादी बनाएको छैन।
सम्बन्धित समाचार: महरा र उनका छोरासँग सम्पर्क भएका शंकास्पद चिनियाँले एयरपोर्टमा छोडेको सुन
नेपालमा सुन तस्करीको साम्राज्य खडा गरेका दाओजिन वाङ!