त्रिशुली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन्।
हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटाले गत सोमबार साँझ त्रिशुलीमा हाम फालेका थिए।
उनी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखाका प्रमुख थिए।
सोमबार साँझ साढे ६ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुलीमा हाम फालेका उनी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार उनको खोजी भइरहेको छ।
सशस्त्र प्रहरी बलको गोताखोर र प्रहरीको टोलीले अहिले त्रिशुलीका विभिन्न ठाउँमा खोजी गरिरहेको छ।
एसपी मिश्रका अनुसार नयाँ पुल बीचमा प्रहरीले उनको बाइक, हेल्मेट र चप्पल फेला पारेको छ।
प्रदेश नम्बर ३-००५-क- ४१७६ नम्बरको एभेन्जर बाइक फेला परेसँगै उनको पहिचान खुलेको हो। देवकोटाले बीच पुलबाट हाम फालेपछि माछा मार्दै गरेका माझीले देखेर प्रहरीलाई खबर गरेका थिए।
त्यसयता उनको खोजी भइरहेको हो।
केही समयअघि मात्रै उनले बैंकको जागिरबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा भने स्वीकृत भइसकेको थिएन।
बेपत्ता भएका देवकोटाका परिवार भने प्रहरीको सम्पर्कमा आएका छन्।
प्रहरीले देवकोटाको खोजीसँगै घटनाको कारणबारे पनि अनुसन्धान गरिरहेको छ।