धार्मिक तथा सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका 'धर्मगुरू' आचार्य श्रीनिवासलाई जनकपुर ल्याइँदै छ।
गत शुक्रवार विश्व हिन्दु परिषदको आयोजनामा जनकपुरमा गौहत्याविरूद्ध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई मंगलबार प्रहरीले सुनसरीको बराहक्षेत्रको चक्रघट्टीबाट पक्राउ गरेको थियो।
सुनसरीमा प्रारम्भिक अनुसन्धान सकिएपछि थप अनुसन्धानका लागि उनलाई जनकपुर ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनलाई पठाइसकिएको र केहीबेरमा उनी जनकपुर आइपुग्ने डिएसपी अवाले बताए।
‘जनकपुरको सभामा उनले बोलेको भिडिओ भाइरल भएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। सोधपुछ गर्छौं, अनुसन्धानपछि मुद्दा चलाउने, नचलाउने वा के गर्ने निर्णय हुन्छ,’ उनले भने।