सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम प्रारम्भ गरेको छ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार गृह मन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय स्थापना गरी काम सुरू गरिएको छ।
हिजो (बुधबार) आयोगको पहिलो बैठक बसेको थियो। उक्त बैठकले आयोगको नाम सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० राख्ने निर्णय गरेको छ। त्यसै नाममा कार्यालयको बोर्डदेखि वेबसाइटसम्म बनाइने छ।
आयोगले सुन तस्करीसम्बन्धी विभिन्न विषयमा कात्तिक १६ गतेसम्म सूचना र सुझाव संकलन गर्ने जनाएको छ।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष आचार्यले आयोगलाई अदालतसरहको अधिकार रहेको बताए।
‘अनुसन्धानमा तानिने व्यक्तिहरूलाई बोलाउँछौं। बोलाएर पनि नआएकाको हकमा आयोगले पक्राउसम्म गर्न पाउँछ। सिआइबीले गरेको अनुसन्धानलाई स्रोतका रूपमा लिनेछौं,’ उनले भने, ‘अध्ययन अनुसन्धानका लागि थप जनशक्ति माग्छौं।’
सरकारले गत असोज १४ गते सुन तस्करीको जाँचबुझ गर्न आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग बनाएको थियो। काम पूरा गर्न आयोगलाई तीन महिनाको समय दिइएको छ।