स्तन क्यान्सर यही कारणले हुन्छ भनेर अहिलेसम्म थाहा छैन। तर केही जोखिमबाट स्तन क्यान्सर हुन्छन् भनेर बुझ्छौं।
पहिलो कारण, वंशानुगत हो। आफ्नो परिवारभित्र कसैलाई स्तन क्यान्सर भएको छ भने अर्कोलाई हुने ५० प्रतिशत सम्भावना रहन्छ। जस्तो, आमालाई भएको छ, दिदी-बहिनी अनि छोरीलाई भएको छ भने अर्को व्यक्तिलाई हुने खतरा हुन्छ। जेनेटिक कारणले पनि स्तन क्यान्सर हुन्छ।
दोस्रो कारण, बदलिँदो जीवन शैली हो। व्यस्त जीवन, कम व्यायाम, जंक फुडले गर्दा मोटोपना बढेको छ। जसले गर्दा स्तन क्यान्सरको जोखिम हुन्छ।
तेस्रो कारण, प्रशोधित मासु, धुमपान र मद्यपान सेवन हो।
अहिले महिलाहरू व्यस्तताका कारण ढिलो विवाह गर्न थालेका छन्। जसले गर्दा महिलाहरूले बेलैमा बच्चा जन्माउन सक्दैनन्। लामो समयसम्म आकस्मिक गर्भनिरोधक चक्की खाइयो भने समेत स्तन क्यान्सरको जोखिम हुन्छ। ३०/३१ वर्षसम्म पहिलो बच्चा जन्माएको राम्रो हो। त्योभन्दा पछि जति ढिलो हुँदै जान्छ जोखिमको मात्रा पनि त्यति नै बढ्दै जान्छ।
महिलाको लागि स्तनपान पनि धेरै महत्वपूर्ण छ।
स्तनमा कडा खालको गाँठो देखियो, स्तनको छालामा परिवर्तन देखियो, निप्पलभित्र तानियो, निप्पलबाट पानी अथवा रगत मिसिएको पानी बग्यो भने स्तन क्यान्सरको लक्षण हुन सक्छ।
यसको जोखिम कम गर्न सकेसम्म गर्भ निरोधक चक्की लामो समयसम्म नलिने, स्वस्थ खाना खाने, मोटोपनबाट बच्ने, धुमपान नगर्ने, मद्यपान एकदमै कम गर्ने, परिवारमा स्तन क्यान्सर कसैलाई भएको छ भने बेला-बेलामा परीक्षण गरिरहनु पर्छ।
आफैंले स्तन क्यान्सरको जोखिम थाहा पाउन हरेक महिलाले महिनामा एक पटक ख्याल गर्न सकिन्छ। आफूलाई स्तनमा कुनै परिवर्तन भएजस्तो लागे चिकित्सककहाँ जान सजिलो हुन्छ। ४० वर्ष पुगेका महिलाले हरेक वर्ष एक पटक स्तन परीक्षण गर्नु राम्रो हो।
स्तन क्यान्सरको उपचार अप्रेसनबाट मात्रै भन्ने हुँदैन। सर्जरीसँगै किमोथेरापी दिने, रेडिएसनको माध्यमबाट उपचार गर्ने र कतिपयलाई हर्मोनल थेरापीबाट समेत उपचार हुन्छ। सबै बिरामीलाई सबै उपचार पद्धति लागु गर्नुपर्छ भन्ने छैन। बिरामीको अवस्थाअनुसार उपचार हुन्छ।
पहिला स्तन क्यान्सर हुनासाथ ज्यानै जान्छ, स्तन काट्न पर्छ भन्ने थियो तर अहिले स्तन जोगाएरसमेत अप्रेसन गर्न सकिन्छ। स्तन क्यान्सर भयो भन्दैमा आत्तिन पर्दैन। पहिलो र दोस्रो चरणको स्तन क्यान्सरको सुरूमै उपचार गर्न सके निको हुन सजिलो हुन्छ।
(स्तन क्यान्सर विशेषज्ञ डाक्टर बानीरा कार्की नर्भिक अस्पताल र बिएण्डबी अस्पतालमा कार्यरत छन्।)