प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर नेतृत्वको चार सदस्यीय टोली बेलायत गएको छ।
बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम (फेज-२) विषयक कार्यक्रममा सहभागी हुन शनिबार आइजिपी कुँवर नेतृत्वको टोली बेलायत प्रस्थान गरेको हो।
आइजिपी कुँवरसँगै प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत गएका हुन्।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरेका थिए।
युएनओपिएससँग सुरूवात गरिएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान हुनेछ।
साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिकाविरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ।
सो अवधिमा बेलायत प्रहरी, प्रहरी ईकाइ आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम छ। आइजिपी कुँवरको अनुपस्थितिमा एआइजी टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।