मनसुन बाहिरिन थाले पनि पोखरामा पानी पर्न छाडेको छैन। दिनहुँ भइरहने भारी वर्षाले पोखराका विकास निर्माण पनि प्रभावित भएका छन्।
शनिबार साँझ पनि पोखरामा मुसलधारे पानी परिरहेको थियो। रात छिप्पिँदै जाँदा वर्षा झन्झन् दर्किंदै थियो। त्यहीबेला पोखराको व्यस्त सडक पृथ्वीचोकदेखि महेन्द्रपुलसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न थालियो।
भारी वर्षा भएकाले सडकबाटै भेल बगिरहेको थियो। सडक किनारका नाली साँघुरो भएकाले वर्षातका भेल नालीमा अट्दैनन्। भेल बढिरहेका बेला सडक कालोपत्र गर्न ठेकेदार कम्पनी कुँवर एण्ड विवेक विल्डर्सले सडकमा बिटुमिन बिछ्यायो।
पानीको भेलले बिटुमिन बगाउँदा बगाउँदै रोलरले पेलेर सडक कालोपत्र गरियो। पुरानो कालोपत्रमाथि अस्फाल्ट प्रविधिमा कालोपत्र थपिएको थियो। जसको मोटाइ कम्तीमा ५ सेन्टिमिटर हुनुपर्ने प्राविधिकहरूले बताएका छन्।
पानी परेका बेला सडक कालोपत्र गर्न नहुने प्राविधिकहरू बताउँछन्। पानीमा सडक कालोपत्र गर्दा आवश्यक तापक्रम नपुग्ने र पानीले कालोपत्र जम्न नसक्ने भएकाले यस्तो बेला कालोपत्र गर्न नमिल्ने प्राविधिकहरू बताउँछन्।
वर्षाको भेला बगिरहेकै बेला पोखराका सडक कालोपत्र गरिएको भन्दै सडक डिभिजन कार्यालय पोखराको आलोचना भइरहेको छ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोलाले एक्कासि पानी परेकाले यस्तो समस्या देखिएको बताए। अस्फाल्ट प्रविधिमा सडक कालोपत्र गर्दा अन्तै बिटुमिन पकाएर ल्याउनुपर्ने भएकाले समस्या भएको उनले बताए।
‘अस्फाल्ट पिच गर्दा बिटुमिन १८० डिग्रीमा पकाउनुपर्छ, पाकेको बिटुमिन सडकमा बिछ्याएर रोलर लगाउने हो,’ उनले भने, ‘पकाएको बिटुमिन राख्न मिल्दैन, त्यही भएर ठेकेदार कम्पनीले पानीमै बिटुमिन बिछ्याएछ।’
पृथ्वीचोकदेखि महेन्द्रपुलसम्म करिब २ किलोमिटर सडक छ। उक्त सडक अस्फाल्ट कालोपत्र गर्न कम्पनीले पुम्दीभुम्दीमा बिटुमिन पकाउने प्लान्ट राखेको छ। अधिकतम तापक्रम हुने भएकाले सिमसिम वर्षामा अस्फाल्ट कालोपत्र गर्न भने समस्या नपर्ने डिभिजन प्रमुख बास्तोलाले बताए।
‘अस्फाल्ट कालोपत्र गर्न सिमसिम पानीमा केही हुँदैन, हिजो त अचानक ठूलो झरी पर्यो,’ उनले भने, ‘चाडपर्वका बेला बाटो राम्रो बनाऊँ भनेको, मौसमले साथ दिएन।’
उनका अनुसार ठेकेदार कम्पनी कुँवर एण्ड विवेक विल्डर्सले उक्त सडक अस्फाल्ट कालोपत्र गर्न ४ करोड ५ लाख ९२ हजार रुपैयाँमा ठेक्का लिएको थियो।
गत वैशाख १५ गते सम्झौता भएकोमा असोज मसान्तभित्र अस्फाल्ट कालोपत्र सक्नुपर्ने म्याद छ।
भारी वर्षामा गरिएको कालोपत्र काम लाग्ने वा नलाग्ने जाँचेर निर्णय गर्ने डिभिजन प्रमुख बास्तोलाले बताए। काम नलाग्ने अवस्था भए शनिबार रातिको कालोपत्र निकालेर फेरि कालोपत्र गर्न लगाउने उनको भनाइ छ।
पोखरा महानगरले २०७७ सालमै बजार क्षेत्रका सडक कालोपत्र गर्न प्रदेश सरकार र संंघीय सरकार मातहत सडक डिभिजन कार्यालयसँग सहकार्य गरेको थियो। तत्कालीन मेयर मानबहादुर जिसीको अग्रसरतामा सहरका २७ किलोटिर अस्फाल्ट कालोपत्र गर्न महानगर, प्रदेश र संघ सरकारले बाँडफाँट गरेका थिए।
जसअनुसार पोखराको न्युरोड, महेन्द्रपुल हुँदै हस्पिटल चोकदेखि अमरसिंह चोक, सिद्धार्थ चोकदेखि बिपी चोक, महेन्द्रपुल हुँदै केआइसिंह पुल र केआइसिंह पुलदेखि महेन्द्रगुफा सम्मको सडक महानगरले जिम्मा लिएको थियो। उक्त सडक अस्फाल्ट कालोपत्र भइसकेको छ।
यस्तै, गण्डकी प्रदेश सरकारले पृथ्वी चोकदेखि जिरो किलोमिटर, हलन चोक, बाराही चोक, शहिद चोक हुँदै मुस्ताङ चोक सम्मको जिम्मा लिएर कालोपत्र गरिसकेको छ।
संघीय सरकार मातहतको सडक डिभिजन कार्यालयले राष्ट्र बैंक चोकदेखि नयाँ बजार हुँदै महेन्द्र पुलसम्मको सडक अस्फाल्ट कालोपत्र गर्ने जिम्मा लिएको थियो। महानगर र प्रदेशले लिएको जिम्मा पूरा भइसक्दा सडक डिभिजन कार्यालयले भने बल्ल काम सुरू गरेको थियो।
डिभिजन प्रमुख बास्तोलाका अनुसार पृथ्वीचोकदेखि महेन्द्रपुलसम्म अस्फाल्ट कालोपत्रको ठेक्का कुँवर एण्ड विवेकले लिएको छ भने पृथ्वीचोकदेखि राष्ट्र बैंक चोकसम्मको ठेक्का छुट्टै कम्पनीले पाएको छ।