फिल्म 'प्रसाद २' को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल हाजिरी जमानीमा छुटेका छन्।
आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको अनुमतिमा जिल्ला प्रहरी परिसर काठमाडौंले अग्रवाललाई हाजिरी जमानीमा छाडेको हो।
अग्रवाललाई उनका कानुनी सल्लाकार आशिष श्रेष्ठ वैद्यको जिम्मा जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौं एक अधिकारीले जानकारी दिए।
'आजै बयान सकिएकाले जिम्मा जमानीमा छाडेका हौं,' परिसरका एक अधिकारीले भने।
उनलाई प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको थियो।
उनीविरूद्ध 'प्रसाद २' का निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिनै स्वदेश तथा विदेशमा फिल्म प्रसारण गरी आफूलाई एक करोड ५० लाख रूपैयाँ नोक्सान पुर्याएको भन्दै साउन १० गते जाहेरी दिएका थिए।
ठगी, आपराधिक विश्वासघात, 'एक्सटर्सन' तथा आपराधिक लाभ मुद्दामा अग्रवालसहित, निर्देशक सुदर्शन थापा र फिल्म सम्पादक मिलन थापाविरूद्ध जाहेरी दिएका थिए।
सोही आधारमा पक्राउ परेका अग्रवाललाई आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरिएको थियो। त्यस्तै फिल्म निर्देशक सुदर्शन थापा र सम्पादक मिलन थापाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।