काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू एकतर्फी (वान- वे) बनाउने भएको छ।
महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडकखण्ड एकतर्फी बनाइने छ।
'त्रिपुरेश्वरबाट ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग सडकखण्डमा प्रवेश गर्न पाइँदैन,' उनले भने, 'त्यस्तै त्रिचन्द्र क्याम्पसबाट गणेशस्थान, प्रज्ञा प्रतिष्ठान भवन हुँदै कमलादी आउने बाटो समेत एकतर्फी बनाइएको छ। जमलको बाटो हुँदै प्रज्ञा प्रतिष्ठान जान पाइँदैन।'
श्रेष्ठका अनुसार पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फ सडकखण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन। त्यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ।
त्यस्तै, सडक संकेत राखेर सर्वसाधरणलाई जानकारी गराएपछि मात्रै निर्णय कार्यान्वयन गरिने उनको भनाइ छ।