गत असोज १० गते अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच फुटपाथ व्यवसायीहरूलाई कानुनले निषेध गरेकाबाहेक ठाउँमा व्यापार-व्यवसाय गर्न दिने गरी वैकल्पिक ठाउँ तोक्ने सहमति भएको थियो।
एक हप्ताभित्रै ती ठाउँ तय गर्ने गरी सहमति भएपछि अभियन्ता ईःले निरन्तर उभिएर मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउने अभियान टुंग्याएका थिए।
एक हप्ताभित्र त्यो सहमति कार्यान्वयनमा नआएको अभियन्ता ई:ले बताए। त्यतिमात्र होइन, फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू पनि फिर्ता नगरिएको उनले बताए।
‘कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्ने काम पनि भएको छैन। फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू पनि फिर्ता भएको छैन। फुटपाथ व्यवसायीहरूलाई हार्दिकता र व्यवहारिकताचाहिँ देखाइएको छ,’ उनले भने।
अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न समिति गठन पनि सहमति भएको थियो।
काठमाडौं महानगरपालिकाका तर्फबाट वार्ता समितिमा रहने व्यक्तिको नाम तय भएर पत्र प्राप्त नभएको अभियन्ता ईःले बताए।
अभियन्ता ईःका तर्फबाट कानुनविद् सुविन मुल्मी रहने भएका छन्। सडक व्यवसायीका तर्फबाट समितिमा बस्ने सदस्यको नाम टुंगो लाग्न बाँकी छ।
असोज १० गते भएको सहमतिमा समितिमा महानगरपालिकाले तोकेका ३ जना अभियानकर्ता ईःको तर्फबाट २ जना, भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीको तर्फबाट १/१ जना प्रतिनिधि रहने उल्लेख थियो।
‘सहमति कार्यान्वयनका लागि महानगरको उदासीनता नै देखिन्छ। तथापि, म आज साँझसम्म समिति बनेको पत्र आउनेमा आशावादी छु,’ उनले भने।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सहमतिपछिको कार्य प्रगतिबारे अद्यावधिक नरहेको बताए।
‘मैले पनि बुझ्न पाएको छैन। सहमति कार्यान्वयन कुन चरणमा पुग्यो भनेर मैले पनि जानकारी लिनै बाँकी छ,’ उनले भने।
अभियन्ता ईःले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार गरेको र विकल्प नदिई विस्थापित गरेको भन्दै १९९ घन्टा उभिएर मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी वाचा सम्झाएका थिए।
यो पनि-
ईः र काठमाडौं महानगरबीच भयो ४ बुँदे सहमति
६ दिनदेखि उभिएर बालेनलाई बाचा सम्झाइरहेका ईः