काठमाडौं महानगरपालिकाले महानगरवासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउने भएको छ।
सोमबार नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा र महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त कुरा बताएका हुन्।
स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन्।
‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ। त्यसबेला कसैलाई सिफारिस गर्नु पर्ने स्थिति हुँदैन,’ उनले भने, ‘महानगरवासीबाट थालिएको निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ।’
यस्तै, स्वास्थ्य विभागका प्रमुख पौडेलका अनुसार महानगरपालिकावासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइने छ।
सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ।
त्यस्तै, केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउने बताइएको छ। निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्ने छ। जसको आधारमा महानगरपालिकाले थप निकासा दिने जनाइएको छ।
सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्ने महानगरपालिकाले बताएको छ। नागरिकता, मतदाता परिचय पत्र, बसाइसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गर्न सकिने छ। यस्ता कागजलाई बिरामी वा बिरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ।
आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ।