काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ।
उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। उनी उक्त होटलको कोठा नम्बर ६०४मा बस्दै आएकी थिइन्। सोमबार बिहान साढे ८ बजे कोठा नखुलेपछि संचालकले प्रहरीलाई खबर गरेको थियो।
प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा पनि ढोका बन्द नै थियो। पछाडि रहेको झ्यालबाट हेर्दा युवती सुतिरहेको अवस्थामा रहेको र बोलाउँदा पनि नबोलेपछि आफन्तलाई घटनास्थलमा बोलाइएको थियो।
आफन्त आएपछि ढोका खोलेर हेर्दा राउत मृत रहेको खुलेको हो।
प्रहरी वृत्त जनसेवाले घटनाको थप अनुसन्धान अघि बढाएको छ। शवको पोष्टमर्टमको लागि त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो।