नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना प्रतिवादीको बयान सकिएको छ।
उनीहरूको बयान मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासमा मंगलबार सकिएको हो। प्रतिवादीहरूको बयान सकिएपछि बुधबार थुनछेक बहस हुने मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए।
वादी र प्रतिवादीको पैरवी सकिएपछि अदालतले प्रतिवादीहरूको हकमा पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोडिदिने मध्ये एउटा आदेश आउनेछ।
जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर पक्राउ परेका ६ जना प्रतिवादीविरूद्ध सोमबार अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो।
सरकारी वकिलको कार्यालयले ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमनी राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बावु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ। उनीहरूलाई तीनवटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको मागदाबी लिएर अभियोग दर्ता गरिएको छ।
नवजात शिशु बेपत्ता प्रकरणमा उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णले बिक्री गरेको शिशुको तौल घटाउन विराटनगरस्थित ग्रीनक्रस हस्पिटलका नर्सलाई दबाब दिएको पाइएको छ। उनले शिशुको तौल घटाउन लगाएको र बिक्री गरेकोबारे कसैलाई पनि नभन्न ड्युटीमा रहेका नर्सलाई दबाब दिएको खुलेको हो।
हस्पिटलमा कार्यरत नर्स पुष्पा चौधरीले प्रहरीलाई दिएको बयानअनुसार अविवाहित किशोरीले करिब दुई केजी तौलको नवजात शिशुलाई जन्म दिएकी थिइन्। तर रेकर्डमा ९ सय ५० ग्राम तौल मात्र भएको शिशु जन्मिएको र स्वास्थ्यमा समस्या देखिएको भन्दै धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान वा सुविधासम्पन्न हस्पिटलमा लैजान सल्लाह अनुसार बुझिलिएँ भनेर डा. कर्णले लेख्न लगाएको ती नर्सले प्रहरीसमक्ष बयान दिएकी छिन्।
अभिलेखमा लेख्न लगाए पनि शिशुको बाबु र आमाले जन्मिएको छोरी नलगेर डाक्टर कर्णको योजनाअनुसार बिक्री गरेको अभियोग पत्रमा उल्लेख छ।
भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन्।
विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो। कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिकै छ। आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले शिशु बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।
डा. कर्णले शिशुको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रूपैयाँ लिएको पुष्टि भएको छ।
प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। पक्राउ परेका सात जनामध्ये ग्रीनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचालउने निर्णय गरेको छ भने अन्य ६ जनाविरूद्ध मोरङ अदालतमा सोमबार मुद्दा दायर भएको थियो।