जिल्ला प्रशासन कार्यायल धनुषाले पहिलो पटक जन्मसिद्धका अशक्त अपांग सन्तानलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ।
शारीरिक अपांगता भएका धनुषाको बटेश्वर गाउँपालिका–१ चित्ररपुरका २१ वर्षीय रामबाबु महतोलाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रजिअ अनुज भण्डारी, नागरिकता फाँटका अधिकृत बालमुकुन्द शर्मा, निरज श्रीवास्तव, नायब सुब्बा रामत्रिपाल महतो घरमै पुगेर वंशज नागरिकता प्रदान गरेका हुन्।
रामबाबुका बुबा रामसागर महतोको करिब डेढ दशक अघि मृत्यु भएको छ। जन्मैदेखि आफैं उठबस तथा खान लाउन, बोल्न समेत सक्दैनन्। रामबाबुलाई आमा तेतरी देवीले स्याहारसुसार गर्छिन्। उमेर पुगे पनि रामबाबु नागरिकताबाट बञ्चित हुँदा विगत चार वर्षदेखि अपांग भत्ताबाट बञ्चित छन्। जन्मसिद्धका सन्तान भएकाले संशोधित नागरिकता विधेयक पास भएपश्चात मात्र उनले नागरिकता पाउन सम्भव भएको हो।
जन्मसिद्धका सन्तान रामबाबु जस्तो अशक्त अपांग सन्तानलाई पहिलोपटक घरमै पुगेर नागरिकता प्रदान गरेको धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले बताए।
प्रमुख जिल्ला अधिकारी पण्डेले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कानुनी प्रक्रिया पुर्याएर यथाशिघ्र रामबाबुलाई अपांगभत्ता उपलब्ध गराउन आग्रह गरेका छन्।
अशक्त छोरा रामबाबुलाई नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा लैजान असहज हुने भन्दै घरमै नागरिकता उपलब्ध गराइदिने वातावरण बनाइदिन तेतरीले निवेदन दिएकी थिइन्। निवेदनको आधारमा रामबाबुको नागरिकताको लागि तयार कागजात प्रक्रिया पुर्याएर प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको हो।
घरमै छोराले नागरिकता पाएपछि आमा तेतरी देवीले खुसी व्यक्ति गरिन्। उनले आफूजस्तो असहाय र अशक्त छोरालाई घरमै आएर नागरिकता प्रदान गरी ठूलो सहयोग गरेकोमा प्रमुख जिल्ला अधिकारीसहित अधिकारी र जनप्रतिनिधिलाई धन्यवाद दिइन्।