प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर बेलायतबाट स्वदेश फर्किएका छन्।
बेलायतमा सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम (फेज-२) विषयक कार्यक्रममा सहभागी भएर शनिबार फर्किएका हुन्।
प्रहरी महानिरीक्षक कुँवरसहितको ४ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।
युएनओपिएससँग सुरूवात गरिएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान भएको थियो।
चुनौतीहरूको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिकाविरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो।
कार्यक्रम अवधिमा आइजिपी कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड, एफसिडिओ अफिसका स्टफेन ओटर, युएनओपिएस कन्सल्टेन्ट सिसिलिया डन्सटर, नेशनल क्राइम एजेन्सी (एनसिए) का विल विल्सन, कलेज अफ पुलिसिङका फाइनान्स एण्ड कमर्सियल प्रमुख डोमिनिक फिनिगन तथा इन्टरनेशनल इन्गेजमेन्टका प्रमुख भीरा कौर चौधरी, क्यामब्रिजसायर पुलिसका प्रमुख निक डिन लगायतसँग छलफल गरेका थिए।
भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
साथै टोलीले ग्रीनविच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गरेको थियो।
बेलायत भ्रमणको क्रममा नेपाली राजदूतावास लण्डनका राजदूत ज्ञानचन्द्र आचार्य र आइजिपी बसन्तबहादुर कुँवरको टोलीबीच भेटवार्ता भएको थियो।
बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा सहभागी हुन आइजिपी कुँवरको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल असोज २० गते त्यसतर्फ प्रस्थान गरेका थिए।