काठमाडौंको माइतीघर १२१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार धर्नामा रहेका आरतीका बुवा विनोदप्रसाद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई नियन्त्रणमा लिएर राखेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। उनीहरूलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको हो।
एसएसपी खत्रीका अनुसार शनिबार बिहान प्रहरीको टोली धर्नामा रहेका पीडित परिवारले राखेका फ्लेक्स हटाउन पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्का र डिएसपी वेदप्रकाश गौतममाथि कारबाही गर्नुपर्ने माग गर्दै तस्बिर राखेर प्रदर्शनमा थिए।
एसपी खड्का र डिएसपी गौतमले गृह मन्त्रालयमा निवेदन दिएका थिए।
‘उहाँहरूले गृह मन्त्रालयमा हामीलाई मानसिक रूपमा तनाव भयो, हाम्रो पनि समाजमा प्रतिष्ठा छ, कसैलाई व्यक्तिगत रूपमा अन्याय परेको भन्दैमा अरूमाथि पनि अन्याय गर्न हुन्न भनेर निवेदन दिनुभएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत हामीलाई आदेश भएपछि त्यो फ्लेक्स हटाउन प्रहरी पुगेको थियो,’ एसएसपी खत्रीले भने।
उनका अनुसार प्रहरीले फ्लेक्स हटाउन आरती साहका परिवारलाई अनुरोध गरिएको थियो।
‘हामी पनि तपाईंको न्यायको पक्षमा छौं। यो चाहिँ हटाइदिनुस्, शान्तिपूर्वक तपाईंहरूले प्रदर्शन गर्न पाउनुहुन्छ भनेर भन्यौं। तर उहाँहरूले मान्नु भएन। त्यसपछि हामीले कानुनबमोजिम स्थानीय भलाद्मी, मिडियालाई राखेर हटाउन खोज्यौं। त्यसपछि उहाँहरूले प्रहरीमाथि नै हातपात गर्न खोज्नुभयो,’ एसएसपी खत्रीले भने, ‘सडकमा सुत्नुभयो। त्यसपछि हामीले सुरक्षितसाथ सिंहदरबार लग्यौं।’
प्रहरीले मानव अधिकारको संरक्षण हुने हिसाबले नै उनीहरूलाई सिंहदरबारमा राखिएको उनले बताए।
धनुषाको नगराइन नगरपालिका-८ की आरती विनोदप्रसाद र निर्मलादेवीकी जेठी छोरी थिइन्।
आरतीको दुई वर्षअघि विवाह भएको थियो। गत जेठ ७ गते साँझ साढे ६ बजे विनोदप्रसादलाई आरतीका ससुरा मदनमोहन साहले फोन गरेका थिए। आरतीको स्वास्थ्य अवस्था खराब भएकाले जनकपुरको काव्या अस्पतालमा बोलाइएको थियो। तर उनीहरू अस्पताल पुग्दा आरतीको मृत्यु भइसकेको थियो।
उनको शरीरमा निलडाम र खुट्टाहरू सुन्निएको देखेपछि आरतीको हत्या भएको परिवारले शंका गरेका थिए।
जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान् मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविविरूद्ध आरतीका बुवाले उजुरी दिन खोजेका थिए। तर प्रहरीले उजुरी लिन नमानेपछि ससुरा र श्रीमानविरूद्ध मात्रै उजुरी दिइएको थियो। पीडित परिवारले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहनसँगै कर्तव्य ज्यानमा उजुरी दिएका थिए।
प्रहरीलाई जेठ ८ गते उजुरी बुझाएपछि मात्र पोस्टमर्टम गरी आरतीको शव जलाउन अनुमति दिएका थिए।
जिल्ला अदालत धनुषाले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। त्यसविरूद्ध आरोपीहरू उच्च अदालत पुगेका थिए।
असोज १८ गते उच्च अदालत जनकपुरले मोतिबाबु र मदनमोहनलाई साधारण तारेखमा छाडेको थियो।
मुख्यन्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले आरतीका माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो।
हत्याको घटना नभई आत्महत्याजस्तो देखिएकाले पनि उनीहरूलाई साधारण तारेखमा छोडिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिएका थिए।