चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै रूपन्देहीले प्रहरीले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ। अन्य चाडपर्वभन्दा दसैंतिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकको नेतृत्वमा बनाइएको सुरक्षा योजनामा सीमा क्षेत्रको सुरक्षा व्यवस्थादेखि बैंक-वित्तीय संस्था र सुनचाँदी पसलहरूको विशेष निगरानी तथा सडक सुरक्षा समेत रहेका छन्। जसको लागि जिल्लाभर एक हजार २९ जना प्रहरी परिचालन गरिएका छन्।
चाडपर्वलाई लक्षित गरि सञ्चालन गरिएको सुरक्षा योजनाले चाडपर्वको बेला हुनसक्ने चोरी-तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झैझगडा लगायतका अपराधिक घटनालाई निस्तेज पारिने प्रहरी उपरीक्षक विकले बताए। विकले सामान्य अवस्थामा भन्दा चाडपर्वलाई लक्षित गरी जिल्लाभर ४३ वटा पिकेट परिचालन गरिएको जानकारी दिए।
यस्तै, १८ वटा समूहमा २४ सैं घण्टा प्रहरीले पैदल गस्ती गर्नेछ भने ५० वटा मोटरसाइकलमा विभिन्न स्थानमा गस्ती सुरू गरिएको छ। सीमा क्षेत्रबाट हुनसक्ने चोरीतस्करी रोक्न २४ वटा युनिट परिचालन गरिएका छन्।
चाडपर्वको समयमा चोरी, लुटपाट, चन्दा संकलन, झै-झगडा जस्ता आपराधिक घटनासँगै सडक दुर्घटनाका घटना पनि बढी हुने गर्छन्। त्यस्तै, दुर्गा पूजा तथा दुर्गा मूर्ति विसर्जनका क्रममा झै-झगडा र दुर्घटनाका घटना समेत हुने गर्छन्। त्यस्ता घटना नहुन् भन्ने उद्देश्यले 'क्वीक रेस्पोन्स टिम' र चेकिङका लागि १७ वटा गाडीमा मोबाइल गस्ती गरिने प्रहरी उपरीक्षक विकले बताए।
यात्रु तथा सवारी साधनका कारण व्यस्त रहने पूर्वपश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा विशेष चेकिङको लागि १० वटा क्रस प्याट्रोलिङ राखिएका छन् भने चालकहरूलाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन रोक्ने गरी विभिन्न १९ स्थानमा ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ सुरू गरेको छ।
प्रहरीले यात्रामा यात्रुमाथि हुनसक्ने अप्रिय घटनालाई रोक्न बेलहिया नाका, भैरहवा, बुटवल बसपार्क, लुम्बिनी पर्साचोक र कालीदह नाका गरी पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको र नागरिक वा यात्रुलाई कुनै पनि समस्या परे यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।
यस्तै, विभिन्न समूहले गर्न सक्ने आकस्मिक सभा, जुलुस, धर्ना, बन्द, चक्काजाम, हड्ताल लगायतलाई मध्यनजर गरी तत्काल परिचालित गर्ने गरी ५८ जनाको टोली तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ।
आइतबार घटस्थापनादेखि सञ्चालन गरिएको विशेष सुरक्षा योजनाका लागि प्रहरी उपरीक्षक विकको नेतृत्वमा दुई जना प्रहरी नायब उपरीक्षक, १९ जना प्रहरी निरीक्षक, १७३ जना जुनियर प्रहरी अधिकृत र ८ सय १७ जना प्रहरी जवान गरी १ हजार २९ प्रहरी परिचालन गरिएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
प्रवक्ता भट्टले नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउँदै जुवा तास, चन्दा लगायतका गतिविधिहरूलाई समेत नियन्त्रण गर्ने भन्दै त्यस्ता गतिविधि भए गोप्य रूपमा जानकारी गराउन समेत आग्रह गरे।
यता पाल्पा प्रहरीले पनि प्रहरीलाई २४ सै घण्टा हाईअलर्टमा राखेर चाडपर्व लक्षित विशेष सुरक्षा योजना संचालन गरेको छ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले चाडपर्वमा यात्रुहरूको बढी चाप हुने भएकोले सुरक्षाका अन्य नियमित कामसँगै राजमार्ग केन्द्रित सुरक्षा योजनालाई विशेष जोड दिइएको बताइन्।
चाडपर्वमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाउँदा पहाडी क्षेत्रका सडकमा दुर्घटना हुन सक्ने भएकोले सिट क्षमताभन्दा बढी यात्रु चढाएमा, यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिएमा, गन्तव्यमा नपुर्याई बीच बाटोमै छोडेर अलपत्र पारेमा पनि प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी गराउन आग्रह गरिएको छ।
जिल्ला प्रहरी प्रमुख हेरम्ब शर्माले चाडपर्वमा यात्रुहरू लुटिने, ठगिने, अनावश्यक भिडभाड गर्ने, क्षमताभन्दा बढी यात्रुहरू राखेर जोखिम बढाउने सम्भावना हुने भएकोले त्यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी समेतको सहभागितामा जिल्लाका विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष संचालन गरिएको जानकारी दिए।
तानसेनको बसपार्क, बर्तुङ, आर्यभञ्ज्याङ, रामपुर, दोभान र हार्थोकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरेको छ।