जुम्लाको हिमा गाउँपालिकामा दुई दिने नि:शुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सेभ द हार्टको आयोजनामा असोज २७ र २८ गते सम्पन्न भएको शिविरमा २ हजार ३ सय जनाको मुटु परीक्षण भएको जनाइएको छ।
शिविरको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ एवम् त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहित १६ जना सहभागी थिए।
शिविरमा इसिजि, इको सहितका सेवा उपलब्ध गराइएको सेभ द हार्टका महासचिव शेरबहादुर रानाले जानकारी दिए।
स्वास्थ्य परीक्षण गरिएकामध्ये १३ जनाको विभिन्न खालको अपरेसन गर्नुपर्ने र त्यसको जिम्मेवारी आफूहरूले लिएको सेभ द हार्टका महासचिव रानाले बताए।
उनका अनुसार जुम्लामा गरिएको यो १ सय १६ औं शिविर हो।
२०१४ यता यो संस्थाले १ लाख २३ हजारको नि:शुल्क मुटु परीक्षण गरिसकेको रानाले बताए।


