वीरगञ्ज महानगरपालिकाले तिहार तथा छठ पर्व अगाडि नै सिर्सिया नदी प्रदूषण नरोकिए उद्योगीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
सोमबार वीरगञ्ज महानगरपालिकामा उद्योगी व्यवसायी, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिबीच बसेको बैठकले नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चेतावनी दिएपछि उद्योगीहरू पनि प्रदूषण नियन्त्रणका लागि आवश्यक काम गर्न तयार भएको बताए।
यसअघि आजै बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदूषण गर्ने ६ उद्योगको अनुगमन गरिएको थियो।
अनुगमनपछि बसेको बैठकमा श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका संचालकहरूलाई बोलाइएको थियो। बैठकमा उद्योगीहरूले आफूहरूको उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताएका थिए।
विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरूले नदी प्रदूषण गर्न नछाडेपछि मेयर सिंह आफैं अनुगमनमा पुगेर प्रदूषण गर्ने उद्योगका संचालकहरूलाई बोलाएर नदी प्रदूषण रोक्न निर्देशन दिएका हुन्।
बैठकले वीरगंज महानगरभित्र संचालित हरेक उद्योगले ६-६ महिनामा स्व. अनुगमन मूल्यांकन प्रतिवेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ।
यस्तै उद्योगीहरूले सिर्सिया नदीमा प्रदूषण गर्न नरोके वीरगञ्ज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारवाही प्रकृया अघि बढाउने निर्णय भएको छ।
बैठकमा मेयर सिंहले वीरगञ्जकै लाइफलाइनको रूपमा रहेको नदी प्रदूषण उद्योगीहरूले गरिरहेको भन्दै अब प्रदूषण गरेको भेटिए ठाउँको ठाउँ कारबाही गर्ने गरी संयन्त्र तयार पार्ने पनि बताए। महानगरपालिकाले यसअघि ५ वटा उद्योगलाई नदी प्रदूषण गरेको भन्दै ३/३ लाख रुपैयाँ जरिवाना गरेको थियो।