कैलालीको गेटामा कात्तिक १ गतेदेखि ओपिडी सेवा सञ्चालन हुने भएको छ।
चाहिने जति जनशक्ति र उपकरण नभए पनि उपलब्ध भएकैबाट अस्पतालले सामान्य सेवा सुरू गर्न लागेको हो।
सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम दिएको छ। एक सय शय्या चलाउने निर्णय र बजेटमा उल्लेख भए पनि जनशक्ति र उपकरण भने त्यसका लागि चाहिने जति छैन।
अहिले २६ जना जनशक्ति गेटा अस्पतालमा हाजिर भएका छन्। न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामान पनि आइपुगेका छन्।
यस अस्पतालले कात्तिक १ गतेदेखि जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा ओपिडी, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा सुरू हुनेछन्।
अस्पतालले एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र सुरू गर्ने जनाएको छ। अन्तरंग सेवा र खोप सेवा विस्तार मंसिर महिनाभित्र गर्ने तयारी छ।
पुसमहिनाभित्र इमर्जेन्सी र प्रसूति सेवा सुरू गरिने अस्पतालले जनाएको छ। शल्यक्रिया सेवा चैत महिनाभित्र सुरू गरिने छ। आइसियू तथा एनआइसियू सेवा आगामी वैशाखभित्र सुरू गरिने भनिएको छ। बीमाबाट प्राप्त हुने सेवा प्रकृयामा रहेको गेटा अस्पतालका निर्देशक प्रमोद जोशीले बताए।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले २०७८ चैत १४ गते ३ सय शय्या रहने गरी आवश्यक प्रबन्ध मिलाई तत्काल अस्पताल सञ्चालन गर्ने निर्णय भएको थियो।
२०७९ जेठ ३१ गते गेटामा मेडिकल कलेज तथा अस्पताल निर्माण गर्ने निर्णय भएबमोजिम २०८० असोज १२ गते र असोज १६ गते गरी १ सय ४१ जना स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी संरचना स्वीकृत गरेको थियो।
चालु आर्थिक वर्षको बजेटमा गेटा अस्पताललाई एक सय शय्याको अस्पतालका रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको छ।
सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा ओपिडी सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको भदौ २१ गते निर्णय गरेर अनुमति दिएको गेटा अस्पतालका निर्देशक जोशीले बताए।
गेटामा मेडिकल कलेज स्थापनाका लागि चाहिने संरचना बनेका छन्। सरकारले यहाँ देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन विधेयक पनि तयार पारेको छ। सुदूरपश्चिमकै ठूलो अस्पतालका रूपमा ६ सय शय्या सञ्चालन गरेर मेडिकल विश्वविद्यालय स्थापनाको माग यहाँका नागरिकले गरिरहेका छन्।