जेठ ३१ गतेदेखि नेपालमा आगमन भएको यस वर्षको मनसुन १२४ दिन रहेर असोज २८ गते पूर्णरूपमा बाहिरिएको छ। यसवर्षको मनसुन अवधिमा ९२ जनाको मृत्यु भएको छ। भने १६८ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ९२ जना मृत्यु भएको छ।
यस अवधिमा ४५९ पहिराको घटना, बाढीको १४२ घटना र चट्याङका १२३ गरी कूल विपदका ८९२ घटना भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए।
विपद्जन्य घटनाबाट ३० जना बेपत्ता भएका छन्।
उनका अनुसार मनसुनबाट ६ हजार १३० परिवार प्रत्यक्ष प्रभावित भएका छन्। २४३ नीजिघरमा पूर्ण क्षति भएका छन भने ७२० घरमा आंशिक क्षति पुगेको छ। घरहरूमा करिब ३३ करोड रूपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
यसवर्षमात्रै १५ वटा पक्की पुल बगाएको छ। त्यसमा १ अर्ब २० करोड, २७ वटा झोलुङे पुल बिग्रिदा १२ करोड, सडक, करिडोर तथा राजमार्गमा २८ करोड रुपैयाँ क्षति पुगेको अनुमान गरिएको छ।
खानेपानी संरचनाहरुमा करिब ८ करोडको क्षति पुगेको अनुमान गरिएको छ। कृषितर्फ ३२१ पशुचौपाया र १२३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, सिंचाइतर्फ ३ करोड ५० लाखको क्षति भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार संचालनमा आइसकेका १३, निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युतमा क्षति पुग्दा करिब ९ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्राधिकरणको तथ्यांक छ।
मनसुनकै अवधिमै बझाङ जिल्ला केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा यसवर्ष थप क्षति पुर्याएको छ। उक्त भुकम्पमा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भए।
भूकम्पबाट ३ हजार १४८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ११ हजार २२४ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ। यसमा अझै जाँचबुझ भइरहेको प्रवक्ता खड्काले जानकारी दिए।
'वास्तविक तथ्यांक आइसकेपछि राहत र पुननिर्माणको लागि योजना बन्छ,' प्रवक्ता खड्काले भने।
बझाङको भूकम्प प्रभावित स्थानमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि प्रभावित परिवारलाई १५ देखि २० हजार रूपैयाँ दिने र पूर्ण क्षति भएकालाई अस्थायी आश्रय निर्माण गर्न दुई किस्तामा ५० हजार दिने घोषणा गरेका छन्।
मृतकका परिवारलाई जनही २ दुई लाख रूपैयाँ दिने निर्णय भएको छ। सोही अनुसार अनुगमन र निरिक्षणको काम भइरहेको प्रवक्ता खड्काले जानकारी दिए।
'मानवीय क्षति घट्दै गएको छ। तर बाढी पहिरोका घटना बढ्दै गइरहेको छ,' उनले भने।
प्राधिकरणको तथ्यांक अनुसार, पछिल्लो १० वर्ष (२०७०-८०) यता २ हजार ४५४ जनाको मृत्यु भएको छ। त्यस्तै, १ हजार ८ सय १४ व्यक्ति घाइते भए भने ९ सय १० व्यक्ति बेपत्ता छन्।
१० वर्षमा ५ हजार ८ सय २५ वटा विपदका घटना भएका थिए ।
‘प्रहरी र स्थानीय तहको जानकारीमा आएका घटना हुन् यी। कतिपय स्थानमा विपद् परे पनि कसैलाई थाहा हुँदैन,’ प्रवक्ता खड्काले भने, ‘२०७२ भूकम्पपछि जलवायुको परिवर्तनका कारण विपद्का घटना बढेको देखिन्छ ।’
मानवीय तथा भौतिक क्षति कम गर्नका लागि आम मानिसमा समयमै सुचना प्रदान गर्ने, खोज तथा उद्धारका काम प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वयन गरिएको छ।
मनसुनबारे जानकारी गराउन जोमिख क्षेत्रहरूमा ३४ वटा स्मार्ट साइरनबाट ८३२ वटा अलर्ट जारी गरिएको छ।