दाङको तुलसीपुरबाट लुटेको एक लाख नगदसहित दुई जना युवक पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सम्झना टोलका २१ वर्षीय आयुष विक र सोही ठाउँका १८ वर्षीय सुनिल मगर बुधबार दिउँसो पक्राउ परेका हुन्।
बुधबार दिउँसो १ तुलसीपुर-८ का दिनेश वलीले बैंकबाट एक लाख रुपैयाँ निकालेको देखेपछि उनीहरूले पिछा गरेका थिए।
उनीहरूले वलीको मोबाइल र एक लाख नगद पनि लुटेर भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए।
लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी खटिएको थियो।
बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यका अनुसार लुटपाट पछि उनीहरू भागेका थिए। पछि प्रहरीले उनीहरूलाई तुलसीपुर-१० राइखल्यान क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।