जनकपुरधाममा सांस्कृतिक नृत्य झिझिया महोत्सव हुने भएको छ।
नव मिथिला फाउन्डेसनको आयोजनामा आगामी शुक्रबारदेखि झिझिया महोत्सव हुन लागेको छ।
मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै झिझिया आयोजना गर्न लागेको फाउन्डेसनका अध्यक्ष अमित कुमारले बताए।
उनका अनुसार पहिलोपटक पाँच सय जना टाउकोमा घैंटा राखेर झिझियाको गीतमा नाच्ने छन्।
केही झिझियाको समूह र जनकपुरका स्कुल क्याम्पसका छात्राहरू एकै लयमा झिझिया नाच्ने उनले बताए।
जनकपुरस्थित रेल्वे स्टेसनको प्रांगणमा हुने महोत्सवमा सुरूमा वक्ताहरूले लोप हुँदै गइरहेको झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चापरिचर्चा गर्ने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले बताए। उनका अनुसार कार्यक्रममा स्थानीय लोक गायकहरूको समेत सहभागी रहनेछ।
फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षदेखि ‘जनकपुर झिझिया महोत्सव’ आयोजन गर्न लागेको हो।
'समयक्रम अनुसार झिझिया लोप हुँदै गएको छ। यसको जगेर्ना हाम्रो जिम्मेवारी हो,' उपाध्यक्ष नेपालले भने, 'झिझियाको महत्व र औचित्य नयाँ पुस्ताले पनि बुझोस भन्ने ध्येयले अब प्रत्येक वर्ष झिझिया महोत्सव गर्छौं।'