दोलखाबाट बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले अवैध सुन किन्ने एक जना व्यापारीलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत शुक्रबार थप एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने हुन्। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दोलखा पठाइसकेको छ।
सुन प्रकरणमा अनुसन्धान अगाडि बढाउँदा न्यौपानेले अवैध रूपमा सुन किन्ने गरेको खुलेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए।
यस प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्। असोज १६ गते चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङसहित ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो।
असोज १७ गते चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी दावा भन्ने आगर लामा पक्राउ परेका थिए।
गत असोज १० दोलखाको बिगु गाउँपालिका-१ का १९ वर्षीया पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्व छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।
११ किलो सुन प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो।
यो पनि: १० महिनामा दोलखाबाट मात्रै आएको थियो तस्करीको ३९ किलो सुन