नवरात्रको सातौं दिन शनिबार पाल्पाका सुरक्षा निकायहरूले फूलपाती भित्र्याएका छन्।
जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा तानसेन शितलपाटीस्थित भगवती मन्दिरमा फूलपाती भित्राइएको हो।
तानसेन बजारका विभिन्न स्थानबाट ल्याएको फूलपाती दसैं घरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले बाजागाजा सहित, निशान भगवती मन्दिर, रणउजेश्वरी भगवती मन्दिरमा सलामी सहित अर्पण गरिएको थियो।
नेपाली सेनाको व्याण्ड बाजा सहितको टोलीले उखु, बेलपत्र, अदुवा, कुभिन्डो, केराको बोट, दारिम, हलेदो, धानको बाला, जयन्ती, अशोकको फूल, सयपत्री लगायत संकलन गरी रणउजेश्वरी भगवती मन्दिरमा लगेर अर्पण गरिएको हो।
नेपाली सेनाको दि फिमेश महिन्द्र दल गण टुँडिखेलमा पुर्याइ पुजाआजा गरेको थियो।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, गणका गणपती भूपेन्द्र गुरुङ, प्रहरी उपरीक्षक हेरम्व शर्मा, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धान, जिल्ला प्रशासक कार्यालय पाल्पाका कर्मचारीहरू उक्त कार्यक्रममा सहभागी थिए।
सुरक्षा निकायले तानसेन बजारमा बाजागाजासहित भित्राएको फूलपाती हेर्न सडकका चोकचोकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। नेपाली सेनाको नागपोखरी व्यारेकमा पुर्याइएको फूलपाती गणपती गुरुङले पुजाआजा गरेका थिए। गणमा पुर्याइएको फूलपाती व्याण्डबाजा सहित दसैंघरमा भित्र्याउने प्रचालन छ।
यसैगरी पाल्पाको दर्ला महाकाली, रम्भादेवी, रैनादेवी लगायतका देवीका मठ मन्दिरमा तथा कोटघरमा देवीको पुजाआजा गरी फूलपाती भित्राइएको छ। आजदेखि देवीका मठ मन्दिरमा भक्तजनहरूको भिडभाड बढेको छ। फूलपातीदेखि देवीलाई बली चढाउने क्रम सुरू भएको छ।