धादिङ केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण १८ वटा घर-गोठमा क्षति पुगेको छ।
आइतबार बिहान ७: ३९मा ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रविन्दु बनाएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।
यसले धादिङ जिल्लामा मात्रै १८ वटा घर-गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। जिल्लामा भएका थप क्षति विवरण पनि बुझ्ने काम भइरहेको उनले बताए।
ज्वालामुखी गाउँपालिका-५ कुमलटारीका ५२ वर्षीय भक्की कुमालको कच्ची घरको पछाडिको भागको भित्ता भत्किएको छ।
त्यही ठाउँका रमेश कुमाल, ५० वर्षीय पुन्टे कुमाल र ४५ वर्षीय प्रताप कुमालको घरमा क्षति पुगेको छ।
वडा नम्बर ७ चैनपुरवेशीका ७३ वर्षीया दलबहादुर दनइको खाना पकाउने चिम्नी खसेको छ।
वडा नम्बर १ मिटार बस्ने मंगलसिंह माझीको गोठ भत्किएको छ। जसबाट एउटा खसीको खुट्टा भाँचिएको छ।
वडा नम्बर ५ बुङकोटघाट सिम्लेमा पहिरो खसेको कार्यालयले जनाएको छ। त्यस वडाका ६० वर्षीय कृष्णबहादुर कुमाल, ५१ वर्षीया सरस्वती लामिछाने, ४५ वर्षीय भुवनबहादुर भुजेल, ३५ वर्षीय तोपबहादुर भुजेल, ७० वर्षीय विष्णुकुमार श्रेष्ठ, ६० वर्षीय काग्रेश कुमाल, ७५ वर्षीया बसमाया लामा र ४३ वर्षीया मुक्ती लामाको घरमा क्षति पुगेको हो।
वडा नम्बर ५ कै ४४ वर्षीय ध्रुव श्रेष्ठको घर, ४० वर्षीय प्रकाश अधिकारीको गोठ र वडा नम्बर १ माझीटारका ४५ वर्षीय मंगलसिन माझीको घरमा क्षति पुगेको छ।
आइतबार बिहान धादिङ केन्द्रविन्दु बनाएर चार वटा भूकम्प गएको केन्द्रले जानकारी दिएको छ। काठमाडौं आसपासका जिल्लामात्र नभई चितवन र पर्वतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
केन्द्रकाअनुसार यो नयाँ भूकम्प नभई २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो।
पछिल्लो समय परकम्पको महसुस गरिएको थिएन। आइतबारमात्रै धादिङ केन्द्र गरी ७:३९, ८:०८, ८:२८ र ८:५९ मिनेटमा ४ वटा परकम्प भएको छ।
सुरूको कम्पन ६.१ म्याग्निच्युडको रहेको र त्यसपछिको धक्का ४.२, ४.३ र ४.१ रहेको राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।