तलेजु भवानीको मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एकपटक महानवमी (आज) का दिन मात्र खुल्ला हुने गर्दछ।
महानवमीका दिन बिहानैबाट पूजाअर्चना सुरू हुने भए पनि आज केही ढिला गरी मन्दिर खुला गरिएको दर्शनार्थीले बताएका छन्।

कोत, दसैं घरलगायत अन्य देवी मन्दिर र शक्तिपीठहरूमा महानवमीका दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ। मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।