चाडपर्वका बेलामा धेरै मात्रामा परिकारहरू बनाउने गरिन्छ। धेरै जना भेट हुने भनेर धेरै परिकार अनि धेरै मात्रामा बनाइन्छ।
धेरै परिकारका खानाहरू धेरै मात्रामा खाँदा हाम्रो शरीरमा जुन सन्तुलनको आहार जरूरी पर्छ, त्यसमा असन्तुलन आउँछ। त्यसको सन्तुलन नमिल्दा धेरैखाले रोगहरू बढ्ने सम्भावना हुन्छ।
जस्तो, चिल्लो खाना खाँदा कोलस्ट्रोल बढ्छ। दसैंका बेलामा धेरै खानपिन गर्दा खराब कोलस्ट्रोल धेरै मात्रामा बढेको हुन्छ। खाना खाँदा चिल्लो कम खाने अनि धेरै परिकार खाइएको छ भने थोरै/थोरै खानुपर्छ।
चाडपर्वमा धेरै मासुको प्रयोग हुन्छ। विशेष गरेर खसीको मासु खाँदा प्रोटिन र पोषण त पुग्छ, सँगै धेरै खाइयो भने युरिक एसिड अनि खराब कोलस्ट्रोल बढ्छ। तेल अत्यधिक प्रयोग गर्ने, एउटै तेल बारम्बार प्रयोग गर्दा शरीरलाई थप असर गर्छ। त्यसैले तेल कम खानुपर्छ।
मासु खाएका बेलामा फलफूल र सागसब्जी पनि खानुपर्छ। दसैंमा मासु अनि अन्य चिल्लो खानपिन धेरै हुँदा पछि बिरामीको संख्या समेत बढ्ने गर्छ। त्यसैले मासु र अन्य खाना सन्तुलित रूपमा खानुपर्छ।
चाडपर्वपछि अस्पतालमा बिरामीको चाप जहिले पनि बढ्छ। जस्तो, मधुमेहका रोगीले गुलियो, मिठाइ वा कार्बोहाइड्रेट धेरै खाँदा सुगरको मात्रा बढेको हुन्छ। त्यस्तै रक्सी धेरै खाएकाले कलेजोको समस्या लिएर बिरामी आउँछन्।
चाडपर्वमा धेरै खाए पनि व्यायाममा भने ध्यान जाँदैन। हामी शारीरिक गतिविधिमा भन्दा पनि सबै बसेर खानमै ध्यान दिन्छौं। त्यसैले परिवार, आफन्त र साथीभाइ मिलेर घुम्न जाने मिल्यो भने ट्रेकिङ जानु राम्रो हो। यसले शरीरलाई फाइदा गर्छ।
खानामा धेरै नुन हुँदा शरीरमा पानीक मात्रा कम हुन्छ। यसले मिर्गौलालाई समेत भार पर्छ। धेरै परिकार बनाइएको छ भने कतिपय परिकारमा नुन नहाल्दा नै राम्रो हुन्छ।
मासु उसिनेर खाएको राम्रो हो भने छाला र बोसो नखाएको राम्रो। माछाले फाइदा गर्छ तर तेलमा तारेर खाँदा शरीरलाई हानि गर्छ।
विशेष गरेर मधुमेहका बिरामीले चाडपर्वमा अझै ख्याल राख्न जरूरी छ। एकातिर अव्यवस्थित खानपिनले सानै उमेरमा मधुमेह हुनेको संख्या बढेको छ भने अर्कोतिर चाडपर्वमा यस्ता बिरामीलाई थप समस्या हुने गरेको छ।
मधुमेहका बिरामीको जीवनशैली एकदमै अनुशासित हुनुपर्छ। चाडपर्वमा विशेष छुट नभनी आफ्नो दैनिकी चलाउनुपर्छ। थोरै खाने अनि पटकपटक खानुपर्छ। हरियो साग र रेसादार खाना खानुपर्छ।
दीर्घ रोगीहरूले चाडपर्वभन्दा पहिला नै आफ्ना लागि औषधि जोहो गर्नुपर्छ। प्राथमिक उपचारमा सहयोगी औषधिहरू समेत घरमा ल्याएको राम्रो। किनभने चाडपर्वका बेलामा अस्पताल र औषधि पसलहरू बन्द हुन्छन्। त्यसैले यसतर्फ पनि ध्यान दिन जरूरी छ।
(कन्सल्टेन्ट फिजिसियन डा. शशांक कुमार सिंह बकुलहर रत्ननगर अस्पताल र चितवन मोडल अस्पतालमा कार्यरत छन्।)