बडा दसैंअन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ।
उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनैभरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ।
मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने प्रचलन छ। कतैकतै आजकै दिनबाट टीका सकिन्छ। घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको थियो।
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन्। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने मान्यता रहेको हो। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।
मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।
कलाकारहरूले पनि मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरेर यसवर्षको दसैं मनाएका छन्। परिवार एवं मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरेको फोटो उनीहरूले सामाजिक सञ्जालमा हालेका छन्।









