अरिंगालले चिलेर एक जनाको मृत्यु भएको छ।
आइतबार तनहुँ भानु नगरपालिका-७ रम्गाटारस्थित जंगलमा अरिंगाल पोल्नेक्रममा अरिंगालले चिलेर दुई जना बिरामी भएका थिए। भानु नगरपालिका-४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङ र ३२ वर्षीय राजकुमार तामाङ बिरामी परेका थिए।
उनीहरू दुबै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि चितवन मेडिकल कलेज (सिएमसी) मा पठाइएको थियो।
त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ४ बजे राजकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।
बिरामी धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ।