धादिङको नेत्रावती डबजोङ गाउँपालिका-४ का ७० वर्षीया सुकमाया गुरूङको हत्या अभियोगमा पक्राउ परेका ३५ वर्षीय मंगल गुरूङ जेल चलान भएका छन्।
वृद्धको हत्या भएको घटनामा आइतबार जिल्ला अदालत धादिङले गुरूङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। सुकमायाको हत्या आरोपमा उनी असोज १३ गते पक्राउ परेका थिए।
एक महिनाअघि (असोज १२ गते) धारिलो हतियार प्रहार गरी सुकमायाको हत्या भएको थियो।
उनको टाउको, घाँटी, घुच्चुक, बायाँ गाला, अनुहारको बायाँ भाग र गर्धनको बायाँ भागमा धारिलो हतियार प्रहार भएको थियो।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भोलिपल्ट (असोज १३ गते) मंगललाई गोठमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। मंगल सोही ठाउँका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमै मंगालले आरोप स्वीकार गरेका थिए। उनले खुर्पा प्रहार गरी सुकमायाको हत्या गरेको प्रहरीलाई बताएका थिए।
प्रहरीले उनको घरको आगनछेउ रहेको कुखुराको खोरबाट हत्यामा प्रयोग भएको खुर्पा पनि बरामद गरेको थियो।
प्रहरीसँगको बयानमा सुकमायामाथि बोक्सीको आरोप लगाएका थिए। उनले आफ्नो कुप्रो भएको ढाड सुकमायाले नै बोक्सी लगाएर बनाइदिएको बयानमा बताएको डिएसपी जैसवारले जानकारी दिए।
सुकमायाको गाइवस्तुले आफ्नो अन्नबाली खाइदिने र पटकपटक सो विषयमा त्यसअघि पनि विवाद भएको मंगालले प्रहरीसँग बताएका छन्।
त्यस दिन (असोज १२ गते) पनि सोही विषयमा विवाद हुँदा आफूले खुर्पा प्रहार गरी सुकमायाको हत्या गरेको बयानमा बताएको डिएसपी जैसवारले जानकारी दिए।
आरोप स्वीकार गरेपछि प्रहरीले अनुसन्धान सकेर कात्तिक १० गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ (२) अनुसार अभियुक्तलाई जन्मकैदको सजाय माग गरिएको थियो।
सरकारी वकिल कार्यालयले पनि प्रहरीकै प्रतिवेदन अनुसार मंगालविरूद्ध मुद्दा दर्ता गरेको थियो।
अदालतको आदेशपछि उनलाई जिल्ला कारागार पठाइएको डिएसपी सन्तु जैसवारले जानकारी दिए।