बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानी हत्या भएको छ।
३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल स्वर्णकारमाथि गोली हानेका थिए। खाजा (चाउमिन) लिएर स्कुल फर्कंदै गरेका बेला स्वर्णकारमाथि अज्ञात समूहले गोली चलाएका थिए।
घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगञ्ज लगिएको थियो।
वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा स्वर्णकारको सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
प्रिन्सिपल स्वर्णकारलाई गोली प्रहार गर्नेहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको र चारै जनाले हेलमेट लगाएर अनुहार ढाकेको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामविश्वास ठाकुर लोहारले बताए।
प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे।
‘प्रिन्सिपल रूपेशजी आज पनि खाजा लिएर स्कुल फर्किंदै हुनुहुन्थ्यो। दुइटा मोटरसाइकलमा आएकाहरूले उहाँमाथि गोली हानेछन्,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वडाध्यक्ष लोहारले भने, ‘मोटरसाइकलको पछाडि रहेका एक जनाले केही राउण्ड गोली चलाएका थिए।’
घटनास्थलमा गोलीका चार खोका भेटिएको छ।
उनकाअनुसार प्रिन्सिपलमाथि गोली हानिएको सिसिटिभी फुटेज पनि छ। सिसिटिभी फुटेज पनि हेरेर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रिन्सिपल स्वर्णकारलाई गोली हानेका व्यक्तिहरू घटनास्थलबाट केहीबेरमै भागेका थिए। ‘प्रिन्सिपललाई गोली हानेर स्कुलकै बाटोबाट बाइपास रोड हुँदै उनीहरू भागेछन्,’ उनले भने।
दाजु सुमोधकुमार सर्राफसँग मिलेर स्वर्णकारले १२ वर्षदेखि स्कुल चलाउँदै आएका थिए। उनीहरूले २०६८ देखि स्कुल चलाउँदै आएका थिए। स्कुलको म्यानेजिङ डाइरेक्टर सर्राफ हुन्।
प्रिन्सिपल स्वर्णकारमाथि सुरक्षाथ्रेट कतैबाट पनि नआएको सर्राफले बताए। ‘कसैसँग रिसिइबी थिएन, सुरक्षाथ्रेट कसैले दिएको थिएन, आज एक्कासी यस्तो घटना घट्यो,’ सर्राफले भने।
घटना हुनु केही समयअघि पनि स्वर्णकार र सर्राफबीच फोनमा कुरा भएको थियो। सर्राफ भने स्कुलको गाडी नवीकरण गर्न वीरगञ्ज गएका थिए।
‘गाडी नवीकरणका लागि फारम भर्दै थिएँ, भाइ (स्वर्णकार) लाई गोली लागेको खबर आयो,’ उनले भने, ‘एकछिनअघि ऊसँग कुरा गरेको थिएँ।’ घटना थाहा पाएपछि आफू बयोधा अस्पताल पुगेको उनले बताए।
स्वर्णकारको शव बयोधा अस्पतालमा छ। पोस्टमर्टमका लागि कलैया प्रादेशिक अस्पताल लैजाने तयारी छ।
प्रिन्सिपल स्वर्णकार स्कुलअगाडि घर बनाएर बसोबास गर्दै आएका थिए। उनको श्रीमती र दुई छोरा छन्। स्वर्णकारलाई कसले किन हत्या गर्यो भन्ने खुलेको छैन।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।