युनेस्कोले छनोट गरेका विश्वका ५५ सहरमध्ये काठमाडौं फिल्म विधामा छनोट भएको छ। युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) अन्तर्गत विश्व सहर दिवसको अवसरमा मंगलबार काठमाडौंलाई यो विधामा छनोट गरिएको हो।
रचनात्मक सहर सञ्जालअन्तर्गत युनेस्कोले विश्वभरका सहरलाई सात वटा रचनात्मक क्षेत्रमा विभाजन गरेको थियो– शिल्प र लोक कला, डिजाइन, चलचित्र, ग्यास्ट्रोनमी (खानाका परिकार), साहित्य, मिडिया कला र संगीत। यी विधामध्ये काठमाडौं महानगरपालिकाले फिल्म र ललितपुर महानगरपालिकाले संगीत विधामा आफ्नो प्रस्तावना युनेस्कोलाई बुझाएको थियो। काठमाडौं भने छनोट हुन सफल भयो।
काठमाडौं कसरी युनेस्कोको सञ्जालमा छनोट भयो र काठमाडौंमा अब फिल्मको विकास कसरी हुन्छ भन्ने विषयमा हामीले युनेस्को र काठमाडौं महानगरपालिकासँग कुराकानी गरेका छौं।
युनेस्कोको संस्कृति विभागका संयोजक सरोज कुशवाहाका अनुसार ‘रचनात्मक सहर सञ्जाल’ भन्ने कार्यक्रम युनेस्कोले सन् २००४ बाट गर्दै आएको हो।
नेपालले यसमा सहभागिता जनाएको यो पहिलोपटक हो।
एकपटकमा दुइटा सहरले मात्र आवेदन दिन पाउनेमा नेपालबाट काठमाडौं र ललितपुरले दिएको थियो। सोहीअनुसार काठमाडौं फिल्म विधामा छनोट भएको उनी बताउँछन्।
‘आवेदन दिएका सहरले चार वर्षे कार्ययोजना बुझाउनुपर्छ। त्यसैको आधारमा युनेस्कोले छनोट गर्छ। यसमा दुबै सहर वा कुनै एउटा सहर पर्न सक्छ। कुनै पनि सहर नपर्न पनि सक्छ। काठमाडौं भने पहिलोपटकमा नै छनोट भयो जुन निकै ठूलो उपलब्धि हो,’ उनले भने।
काठमाडौंले फिल्म र ललितपुरले संगीत विधालाई नै छनोट गर्नुमा विभिन्न कार्यशाला अनि विज्ञहरूसँग सरसल्लाह भएको उनले बताए।
युनेस्कोको यो सञ्जालमा करिब १ सयभन्दा धेरै देशका ३५० वटा सहर आबद्ध छन्। यसपटक ५५ वटा सहर थपिएका हुन्। नयाँ सदस्य सहरसहित चलचित्र विधामा काम गर्ने विश्वका २५ सहर भएका छन्। यस वर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौंसहित पाँच सहर चलचित्र विधामा छानिएका छन्। त्यसैगरी, संगीत विधामा १६, डिजाइनमा ६, शिल्प तथा लोक कलामा ७, साहित्यमा १०, ग्यास्ट्रोनमीमा ७, मिडिया कलामा ४ वटा सहर जोडिएका छन्।
युनेस्कोले हरेक दुई वर्षमा आफ्नो सञ्जाल विस्तार गर्छ। आगामी वर्षमा नेपालका अन्य सहरले पनि यो सञ्जालमा प्रतिस्पर्धा गर्न सक्छन्। यो वर्ष आवेदन दिइसकेका काठमाडौं र ललितपुरले पनि पुनः सहभागिता जनाउनसक्ने युनेस्कोका सरोज कुशवाहा बताउँछन्।
महानगरपालिकाको सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधान काठमाडौं उपत्यकालाई युनेस्कोले फिल्म विधामा छनोट गर्नुलाई अवसरको रूपमा बताउँछिन्।
‘काठमाडौं सहरलाई विश्वस्तरमा चिनाउनका लागि यो ठूलो अवसर हो,’ उनले भनिन्।
युनेस्कोले दिएको यस अवसरलाई सदुपयोग गर्न महानगरपालिकाले सबभन्दा पहिला ‘कल्चर एन्ड क्रियटिभ एकेडेमी’ भनेर संस्था खोल्न लागेको उनले बताइन्।
महानगरपालिकाभित्रै फिल्मका विज्ञ नभएकाले बाहिरका फिल्म विज्ञहरूसँग सहकार्य गर्ने, फिल्म विकासका लागि आवश्यक नीति तर्जुमा गर्ने, रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धान गर्ने लगायत योजना भएको उनले बताइन्। त्यसका साथै हरेक वर्ष फिल्म पढ्नका लागि महानगरले छात्रवृत्ति पनि दिने योजना बनाएको छ।
त्यसका साथै महानगरले पहिलादेखि गरिरहेको फिल्म महोत्सव र अन्य महोत्सवलाई पनि प्रवर्द्धन गर्ने महानगरको योजना छ। त्यसैगरी फिल्मको अभिलेख, पुस्तकालय र संग्रहालय निर्माण, सांस्कृतिक र रचनात्मक उद्यमीलाई उद्यम सञ्चालन गर्न सहयोग गर्ने लगायत योजना पनि छ।
‘युनेस्कोको यो सञ्जाल विश्वभर भएकाले हामीले बाहिरी मुलुक गएर एकअर्कासँग ज्ञान साट्नेलगायत काम पनि हुनेछन्,’ उनले भनिन्।
युनेस्कोका महानिर्देशक अड्रे अजौका अनुसार यो सञ्जालले संस्कृतिमा पहुँच बढाउने र विकासको लागि रचनात्मकताको शक्ति बढाउने काममा नेतृत्व गरिरहेको छ।