उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन्।
आगामी २०८३ साल चैत मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाइ थियो।
शुक्रबार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताए।
उनले देशकै प्रतिष्ठाकै विषय भएको सो आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे।
उपप्रधानमन्त्री खड्काले सो आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढ्न नेपाल सरकार तयार रहेको पनि पटक/पटक दोहोर्याए।
उनले सो आयोजनाको ठेकेदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कडाइ गर्नुपर्ने समेत बताए।
उपप्रधानमन्त्री खड्काले भने, ‘चाँडै नै यो विषयमा सचिवजीले कोअडिर्नेट गर्नुस्। भौतिक मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली सेना कोको बसेर तपाईंहरूले २/३ दिनभित्रै मिटिङ गरेर त्यसको अवस्थाबारे मलाई जानकारी हुनुपर्यो।’
उनले अघि भने, ‘त्यसैले त्यति महत्वको योजना भएको हुनाले हामीले २०८३ को चैत मसान्त तोकेका छौं। त्योभित्र टुंग्याउने गरी २४ घण्टामा २० घण्टा काम गर्नुपर्ने हो कि, २४ नै घण्टा गर्नुपर्ने हो कि। त्यसलाई त्यही रूपमा लिएर फाष्ट ट्र्याकलाई कहीँ पनि कम्प्रमाइज गर्नु भएन। जहाँ समस्या छन्। त्यो आजै हुनुपर्यो। सरकारले गर्नुपर्ने काम गरौंला। तर, यसमा समय थप खर्चने वा टार्ने हामीसँग अनुमति छैन। यसलाई त्यही महत्वको साथ नेपाल सरकारले लिएको छ।’
उपप्रधानमन्त्री खड्काले कुनै पनि काममा ढिलाइ नगर्न मन्त्रालय मातहतका निकायलाई सचेत गराए। बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले बजेटको अभावमा नेपाली सेनाले पाएको सडक निर्माण लगायतका जिम्मेवारी समयमै सम्पन्न गर्ने काममा ढिलाइ हुनु गएको स्पष्टीकरण दिए।