पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ।
आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ।
‘अहिलेसम्म तीनवटा वडामा गरेर १३ जनाको मृत्यु भएको खबर आएको छ। पूर्ण विवरण अझै आइसकेको छैन,' उनले सेतोपाटीसँग भनिन्, 'कुन ठाउँमा कति घर क्षति भयो भन्ने पनि स्पष्ट भइसकेको छैन। हामी उद्दारका लागि उपलब्ध सबै संयन्त्र परिचालन गरिरहेका छौं।'
त्यस्तै, जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिए। सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन्।
नगलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्री पन्तका अनुसार उनको वडामा मात्र २४ भन्दा बढी घर भत्किएका छन्। मानवीय क्षतिको खबर भने नआएको उनले बताए।
यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।
पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।
नेपालको भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको घर्षण भइरहेको छ। हामीकहाँ आउने भुइँचालोको कारण त्यही घर्षण हो। भूगर्भविदहरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ भने पाँच सय वर्षमा १० मिटर हुन्छ।
पश्चिम नेपालमा ८ म्याग्निच्युड हाराहारीको ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो। भन्नुको मतलब, विगत पाँच सय वर्षदेखि ठूलो भुइँचालो नगएकाले पश्चिम नेपालको भूसतहमुनि इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन। यसले ठूलो परिमाणको भूकम्पीय शक्ति त्यहाँ जम्मा भएर बसेको छ।
पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति त्यति नै ठूलो छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको पुष्टि गर्छ।