जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ।
शुक्रबार मध्यराति ११:४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको गएको भूकम्पका कारण १३२ जनाको मृत्यु र १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।
जाजरकोटमा मात्रै ९५ जनाको मृत्यु र ५५ जना घाइते छन्। रूकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते छन्।
उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन्। अहिले उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।
नेपाल प्रहरीका ८ सय भन्दा बढी प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।
नेपाल प्रहरीको तर्फबाट रूकुम पश्चिममा डिएसपीको कमान्डमा ३२० जना र जाजरकोटमा डिएसपीको कमान्डमा ४५० जनाको टोली खटिएको छ।
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जनाको प्रहरी टोली जाजरकोटका लागि हिँडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
चौरजहारी बेस क्याम्पबाट १०-१० जनाको टोली जाजरकोट र रूकुम पश्चिमका लागि खटिएको छ।
त्यस्तै डिआइजी डा.गोपेश ठाकुरको कमान्डमा ११ जनाको मेडिकल टोली र सेनाका लेफ्टिनेन्टको कमान्डमा ११ जनाको रेस्क्यु टोली सेनाको एमआइ-१७ हेलिकप्टरमा पौने ८ बजे जाजरकोटको लागि टेक अफ भएको थियो।
नेपाल प्रहरीले उद्धारका लागि सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।
जाजरकोटका लागि ९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६८, ९८४८१२२५८४ र ९८५८०५४०५० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।
यस्तै रूकुम पश्चिमका लागि ९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७, ९८४७९३६११३ र ९८५७८९०५५०
सशस्त्र प्रहरी बलले पनि विभिन्न युनिटका कर्मचारीहरूलाई उद्धारका लागि खटाएको छ।
जाजरकोटमा मात्रै सशस्त्र प्रहरीले १५९ जना सुरक्षाकर्मीहरू खटाएको छ।
आश्रित गुल्म जाजरकोटबाट सशस्त्र डिएसपीको कमान्डमा ७०जना टोली खटिएको प्रधान कार्यालयले जनाएको छ।
नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा दुई प्लटून ७० जनाको टोली खटिएको हो। नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटिएको छ।
यस्तै नं. ६ बाहिनी सुर्खेतबाट डा. निश्चल घिमिरेको कमान्डमा एम्बुलेन्ससहित ४ जनाको मेडिकल टोली खटिएको छ।
आश्रित गुल्म दैलेखबाट २५ जनाको टोली पनि खटिएको छ।
त्यसैगरी सशस्त्र प्रहरी बलले पश्चिम रूकुममा १७३ जना सुरक्षाकर्मी उद्धारका लागि खटाएको छ। नं. ४७ गुल्म पश्चिम रूकुमबाट १०७ जनाको टोली खटिएको छ।
आश्रित गुल्म पूर्वी रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ११ जनाको टोली खटिएको छ।
नेपाल एपिएफ अस्पतालबाट डा. रोशन पराजुली सहित २ जना डाक्टर तथा अन्य ६ जना मेडिकल टोली गरी जम्मा ९ जना मेडिकल सामग्री सहित खटिएको छ।
नं. २९ गण दाङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जनाको टोली खटीएको छ। आश्रित गुल्म सल्यानबाट २५ जनाको टोली खटिएको छ।
यस्तै नेपाली सेनाको विभिन्न युनिटको टोली पनि खटिएको छ।
खोज तथा उद्धारको लागि एनए-०५७ एमआइ हेलिकप्टरबाट काठमाडौं-चौरजहारी ३ जना डाक्टरसहित १६ जनाको टोली खटिएको जंगी अड्डाले जनाएको छ।
एनए-०१६०६४ स्काइ ट्रकबाट १६ जनाको टोली, एनए-०६१ बेल हेलिकप्टरबाट सुर्खेत लामिडाँडाबाट ३ जना, एनए-०३८ एमआइ हेलिकप्टरबाट २६ जना मेडिकल टिमसहित सेना परिचालन भएको सेनाले जनाएको छ।
यस्तै काठमाडौं, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धारको लागि स्टान्डबाइ राखिएको छ। घाइतेहरूको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा पनि डाक्टरको टोली तयारी अवस्थामा राखिएको छ।