गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ।
भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो।
प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए।
प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रूकुम पश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन्।
‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौं’ मुख्यमन्त्री पाण्डेद्वारा जारी अपिलमा भनिएको छ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताए।
शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका १ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।