जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परेकाहरूको उद्धार करिब सकिएको छ।
शनिबार अपराह्न ४ बजेसम्म १५७ जनाको मृत्यु र २१० जना घाइते भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचार काठमाडौंको त्रिवि शिक्षण अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा जारी छ।
सामान्य घाइतेहरूको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। केही घाइतेहरू उपचारपश्चात डिस्चार्ज समेत भइसकेका छन्।
कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले घाइतेहरूको उद्धार गरी क्षति विवरण संकलन कार्य भइरहेको जानकारी दिए।
उनले ३ हजारभन्दा बढी घरहरूमा भूकम्पले क्षति पुर्याएको आँकलन रहेको बताए।
रूकुम पश्चिममा मात्रै २ हजारदेखि २५ सय घरहरूमा क्षति पुगेको आकलन गरिएको छ। रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।
त्यहाँ ५२ जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका र मुसिकोट गाउँपालिकामा भूकम्पले क्षति पुर्याएको छ।
‘क्षतिको यकिन विवरण शंकलन भोलिदेखि सुरू गर्छौं। जिल्लाभरी २ हजारदेखि २५ सय घरहरूमा क्षति पुगेको अनुमान गरेका छौं,’ उनले भने।
भूकम्प प्रभावितहरूलाई गाँस बासको व्यवस्था आजका लागि स्थानीय सरकारले नै गर्ने व्यवस्था मिलाइएको प्रजिअ पन्तले जानकारी दिए।
‘भोलिदेखि क्षतिको विवरण संकलन भएपछि कहाँ कति क्षति भएको छ सोही अनुसार राहत सामग्री पठाउँछौं,’ प्रजिअ पन्तले भने।
त्यस्तै जाजरकोटमा १ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको आकलन गरिएको छ। भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा धेरै घरहरु भत्किएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए।
केन्द्रबिन्दु रहेको बारेकोटमा मानवीय क्षति भने नभएको उनले बताए। भूकम्ममा परी नलगाड नगरपालिकामा सबैभन्दा बढी ५५ जनाको मृत्यु भएको छ।
त्यस्तै भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ। छेडागाड नगरपालिकामा १ जना र कुशे गाउँपालिकामा ७ जना गरी १०५ जनाको मृत्यु सूचना अधिकारी शर्माले बताए।
त्यहाँ पनि उद्धारको काम सकिएको क्षतिको विवरण संकलन सुरू भएको छ। ‘जिल्ला भरी १ हजार भन्दा बढी घरहरू भत्किएको अनुमान छ,’ उनले भने।
भूकम्प प्रभावितहरूलाई गाँस, बास र कपासको व्यवस्था गर्न सबै स्थानीय सरकारसँग समन्वय गरिएको उनले बताए।
प्रभावित क्षेत्रहरूमा तत्कालका लागि त्रिपाल, म्याट, लत्ता कपडा, खाद्यान्न र पकाउने भाँडा पठाइएको उनले बताए।
प्रदेश सरकार र सहयोगी संघसंस्थाहरूले प्रदान गरेका राहत सामग्री पठाइएको र भोलिदेखि विस्तृत रूपमा क्षति संकलन गरिने शर्माले जानकारी दिए।
कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री जिसीले पनि हेलिकप्टर र ट्रकबाट भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री पठाइएको जानकारी दिए।
राहत सामग्री एकद्वार पद्धतिबाट जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने र त्यसका लागि प्रशासनले प्रभावित क्षेत्रका स्थानीय सरकारसँग समन्वय गर्ने मन्त्री जिसीले जानकारी बताए।