शुक्रबार मध्य रातिको भूकम्पबाट घाइतेमध्य ३८ जनाको बाँकेमा उपचार जारी छ।
नेपालगंजस्थित भेरी अस्पतालमा ३७ जना र नेपालगंज मेडिकल कलेज कोहलपुरमा १ गरी ३८ जना घाईतेको उपचार भइरहेको छ।
घाइतेमध्य एक जना गर्भवती पनि छन्।
जिल्ला आपतकालिन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गएराति १२ बजेसम्म पाँच जना गम्भीर घाइतेको सफल अपरेशन भएको छ।
त्यस्तै राति नै राति १२:५० बजे थप ६ जना बिरामी एम्बुलेन्स बाट उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ।
उनीहरुमध्य २ जना जाजरकोटका भेरी नगरपालिका र ४ जना रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाका हुन्।
हाल उपचाररत सबै घाइतेको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको फोकल पर्सन श्रेष्ठले बताए। अस्पताल पुर्याउनुपूर्व बाटोमै मृत्यु भएका जाजरकोटको नलगाँड – १ का एक जनाको शव आफन्तलाई बुझाउने प्रक्रिया थालिएको छ।
कोहलपुरमा उपचाररत बिरामीलाई पनि डेडिकेटेड भेरी अस्पतालमा उपचारको लागि ल्याउन समन्वय भइरहेको श्रेष्ठले जानकारी दिए।