इसराइलमा मृत्यु भएकामध्ये तीन जना नेपालीको शव सुर्खेत पठाइएको छ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का प्रवेश भण्डारी, डोटीको लामिखाल ८ का पदम थापा र डोटीकै पचनालीका राजन फुलाराको शव सुर्खेत पठाइएको हो।
नेपाली सेनाको हेलिकप्टरमार्फत् तीन शव सुर्खेत पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सुर्खेतबाट भण्डारीको शव दाङ, थापा र फुलाराको शव डोटीमा हेलिकप्टरबाटै लगिनेछ। इसराइलमा पढ्न गएका नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको थियो।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।