गत शुक्रबार मध्य रातिको भूकम्पबाट तहसनसह बनेको जाजरकोट र रूकुम पश्चिमलाई रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले २२ लाख नगद सहयोग गर्ने भएको छ।
जनप्रतिनिधि र नगरका कर्मचारीहरूबाट एकमुष्ठ उठाएर २२ लाख ५४ हजार ५ सय नगद पठाइने नगरपालिकाले जानकारी दिएको छ।
‘सिद्धार्थनगर नगरपालिका कार्यालयको साथै नगरका विभिन्न संघसंस्थाको सहयोगमा कम्बल, चामल, चाउचाउ, फुरनदाना, सिरक, लत्ताकपडा जिल्ला विपद् व्यवस्थापन समिति रूपन्देहीका अध्यक्ष (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरी भूकम्प प्रभावित जाजरकोट जिल्लामा एक ट्रक राहत साम्रगी आइतबार राति पठाउन सफल भएका छौं,’ सिद्धार्थनगर नगरपालिकाले जानकारी दिएको छ।
शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूलाई स्थानीय तहहरूले सहयोग गर्ने क्रम जारी छ। काठमाडौं उपत्यका नगरफोरमले २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
भरतपुर महानगरपालिकाले १ करोड रूपैयाँ सहयोगको घोषणा गरेको छ।