सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतले जाजरकोटका भूकम्प पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
आइतबार बेलुका कार्यालयले भेरी नगरपालिका–१ का भूकम्प पीडित ७१ परिवारलाई तत्कालिन राहत सामग्री वितरण गरेको हो।
गाउँमा पूर्णरुपमा घर भत्किएका परिवारलाई राहत वितरण गरिएको सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका सञ्चार कोर्डिनेटर दुर्गा तिवारीले जानकारी दिए।
गाउँपालिका, वडाका जनप्रतिनिधि, स्थनीय राजनीतिक दलका प्रतिनिधि, प्रहरीसँगको समन्वयमा राहत सामग्री वितरण गरिएको उनले बताए।
यस्तै जिल्लास्थित साझेदार संस्थाहरु पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियानसँग पनि राहत वितरणका लागि समन्वय गरिएको थियो।
उनका अनुसार बालबालिकाका लागि सरसफाई सामग्री, त्रिपाल, कम्बल, न्यानो कपडा, भान्साका लागि आवश्यक भाँडाहरु राहतस्वरुप वितरण गरिएको हो।