रूकुम पश्चिमका भूकम्प प्रभावित आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा मंगलबार पनि राहत वितरणको काम जारी नै छ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाई शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पका कारण आठबिसकोट नगरपालिकामा मात्रै ४२ जनाले ज्यान गुमाएका थिए। भूकम्पले सबैभन्दा धेरै मानवीय क्षति वडा नम्बर १४ र १३ मा भएको छ।
एउटै वडाका २६ जनाको मृत्यु भएको थियो। यहाँका अधिकांश घर भत्किएका छन्। तीबाहेक चिरा परेका घरभित्र मानिसहरू त्रासका कारण बस्न सकिराखेका छैनन्।
तीमध्ये केही विद्यालयमा र केही खुला आकाशमुनि नै छन्। चिसो बढ्दै गएकाले त्रिपालमुनि समेत रात बिताउन कठिन भएको पीडितहरूले बताए।
आठबिसकोटका मेयर रवि केसीले उद्धार कार्य सकिएपछि राहत वितरण गर्न थालिएको सेतोपाटीलाई बताए।
‘विभिन्न संघसंस्थाले उपलब्ध गराएका त्रिपाल र खाद्यान्न वितरण गर्ने क्रम जारी छ,’ मेयर केसीले भने, ‘प्रभावितहरू भोकभोकै बस्नु नपरोस् भने संवेदनशील भएर काम गरिरहेका छौं।’
खाद्यान्न पुरिएका तथा खाना खानेसमेत प्रबन्ध नभएकाहरूलाई नगरपालिकामा सम्पर्क राख्न भनिएको उनले बताए।
भूकम्पले ठूलो त्रास सिर्जना गरे पनि आफूहरूले निकै सावधानी र धैर्यपूर्वक काम गरेको उनले बताए।
‘त्रिपाल नभएकालाई त्रिपाल र खाद्यान्न नभएकाहरूलाई खाद्यान्न उपलब्ध गराउँदै आइएको छ,’ मेयर केसीले भने, ‘यस्तो कठिन समयमा समस्या अवश्य छ तर हामी प्रभावितको परिस्थिति अनुरूप प्राप्त सहयोग वितरण गरिरहेका छौं।’
आवश्यकताका आधारमा विभिन्न संघसंस्थाहरूबाट प्राप्त राहत सामग्री वितरणको काम भइरहेको कसैलाई भेदभाव नगरिएको उनले बताए।
उनले त्रिपालमा बस्दै आएका ज्येष्ठ नागरिक र बालबालिका आदि बिरामी नपरून् भनेर स्वास्थ्यकर्मी पठाई नियमित स्वास्थ्य जाँच गर्ने गरिएको पनि बताए।
यो विपदको समयमा आमनागरिकले ठूलो कष्ट बेहोर्नु परे पनि सबै मिलेर यसको सामना गर्ने पनि सुनाए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरूले भूकम्पपछिको स्थिति अवलोकन गरी फर्किएको हुँदा सोही अनुरूपको राहत र पुनर्निर्माणमा ठोस योजना बन्ने उनले विश्वास व्यक्त गरे।
‘उहाँहरू आफैं आएर प्रत्यक्ष अवलोकन गरेर जानु भएको छ। उहाँहरूलाई यहाँको अवस्था थाहा छ,’ मेयर केसीले भने, ‘भूकम्पले खण्डहर बनेको आठबिसकोटलाई फेरि ठड्याउन अवश्य उहाँहरूले महत्त्वपूर्ण योजना बनाउनुहुनेछ।’
जिल्लाकै सानी भेरी गाउँपालिकामा भूकम्पबाट दस जनाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले भूकम्प प्रभावितलाई राहत वितरणको काम भइरहेको बताए।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार सबैभन्दा टाढा र जटिल भूगोल ठानिएको आठबिसकोट– १४ नामीडाँडामा समेत मंगलबार राहत सामग्री पठाइएको छ। त्रिपाल, खाद्यान्नलगायत सामग्री पठाइएको हुँदा मंगलबारदेखि त्रिपालको अभाव नहुने उनले बताए।
भारत सरकारका साथै नेपाल सरकारका विभिन्न निकाय, विभिन्न संघसंस्थाहरूबाट प्राप्त त्रिपाल, खाद्यान्न लगायतका राहत सामग्री एकद्वार प्रणालीबाट वितरण भइरहेको डिएसपी कार्कीले बताए ।
‘प्राप्त राहत सामग्रीको जिल्ला प्रशासन कार्यालयमा अभिलेख राखिन्छ,’ उनले भने, ‘त्यहाँबाट आवश्यकताका आधारमा खाद्यान्न तथा राहत सामग्री वितरण गरिँदै आइएको छ।’
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले प्रभावितहरूको परिवारको संख्या हेरेर राहत वितरण गर्ने गरिएको बताए।
चामल, नुन, दाल, हात धुने साबुन, ब्रस, मञ्जन, त्रिपाल, ब्ल्यांकेटजस्ता सामग्री वितरण गरिँदै आइएको उनले जानकारी दिए।
सोमबारको परकम्पनले फेरि दस जना प्रभावित भएको भन्दै प्रहरी निरीक्षक खड्काले पटक/पटक आइरहेका झट्काका कारण मानिसहरू घरभित्र पस्न र बस्न डराइरहेको बताए।